भद्रपुर । सडकबाट प्रहरीले उद्धार गरी ६ महिना अगाडि मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारार्थ भर्ना गरिएकी महिलाको आफन्त फेला पर्न सकिरहेको छैन । बेवारिसे रूपमा रहेकी महिलाको आफन्त खोजिदिन वा संरक्षण गरिदिन अस्पताल प्रशासनले अनुरोध गरेको छ ।
अस्पतालमा उपचारार्थ भर्ना गरिएकी महिला अहिले रोगबाट मुक्त भए पनि आफन्त वा संरक्षक लिन नआएपछि संरक्षकको खोजी गरिदिन अनुरोध गरेको हो । राम्ररी बोल्न, आँखा देख्न र कान सुन्न समेत नसक्ने ती महिला आफू दार्जिलिङ् बजार छेउकी बासिन्दा भएको बताउने गर्छिन् । कसले गर्दा बेवारिसे भएर, कसरी नेपाल आइपुगिन् भन्ने थाहा नपाउने ती महिलाले छिरिङ् नाम गरेको छोरो रहेको जानकारी दिने गरेकी छन् । दोहोरो कुराकानी समेत गर्न नसक्ने ती महिला आफूलाई डिकी तामाङ भएको बताउँछिन् ।
६० वर्ष माथिको उमेर समूह जस्तो देखिने ती महिलालाई प्रहरीले खुट्टा भाँचिएको अवस्थामा उद्धार गरेर अस्पतालमा उपचारका लागि भर्ना गराएको थियो । यस बीचमा अस्पताल प्रशासनले आफन्तको खोजीका लागि विभिन्न प्रयास गरे पनि सफलता नमिलेको जनाएको छ ।
मेडिकल वार्डका इन्चार्ज वि पि चौधरीका अनुसार ती महिलाको रेखदेख गर्ने आफन्त नभएका कारण अस्पतालले दैनिक सय रूपैया दिएर सरसफाइका लागि खर्च गरिरहेको छ । आफैं हिडडुल गर्न नसक्ने ती बेसाहारा बृद्धाको उद्धार गर्न कुनै संस्थाले जिम्मा लिए अस्पताल प्रशासन अन्य विरामीका लागि समय र श्रम खर्चने थियो ।
महिलाको आफन्त खोजीमा लागि परेकी सामाजिक अभियन्ता पुण्यप्रभा सुब्बा विभिन्न सञ्चार माध्यम तथा सम्पर्क व्यक्ति मार्फत ती महिलाको आफन्तको खोजी गरिरहे पनि फेला नपरेको बताउँछिन् ।