धरान/ धरान–१८ स्थित डिपो स्कुलले हालै निर्वाचित धरान नगरका प्रमुख तिलक राईलाई अभिनन्दित गरेको छ । त्यस्तै फोटो पत्रकार तथा डिपोका पूर्व विद्यार्थी विकास चाम्लिङ राईलाई पनि नगदसहित अभिनन्दित गरिएको छ ।
नगर प्रमुख राई डिपोका २०४७ सालका एसएलसी ब्याच हुन् । स्कुलले ५७ औं स्थापना तथा अभिभावक दिवसको अवसर पारेर नगर प्रमुख राईलाई अभिनन्दन–पत्र प्रदान गरियो । विद्यालय व्यवस्थापन प्रमुख मेजर श्रवणकुमार लिम्बूले अभिनन्दित गरेका हुन् ।
पूर्व आर्मीको छोरासमेत रहेका राई धरान नगरको नगर प्रमुख भएका सुन्न पाउँदा विद्यालय परिवार हर्षित बनेको विद्यालयका प्राचार्य राजकुमार राईले बताए । पत्रकार राईलाई नगद ५ हजार रुपैयाँसहित अभिनन्दन पत्रले अभिनन्दित गरिएको हो । उनी डिपोका बास्केटबल शिक्षकसमेत हुन् । नगर प्रमुख राईले विव्यसले निःस्वार्थ भावनाका साथ विद्यालयलाई यो अवस्थासम्म ल्याइपु¥याएकोमा खुशी व्यक्त गरे ।
विद्यालयलाई थप प्रगतितर्फ उन्मुख गराउनका लागि सबै क्षेत्रलाई समेटेर जान सुझाव दिए । त्यसक्रममा विद्यालयले नर्सरीदेखि कक्षा १२ सम्म प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई पुरस्कृत गरेको थियो ।
त्यस्तै विद्यालयका शिक्षक सन्तोष राईलाई पनि सम्मानित गरिएको छ । उनलाई नगद २० हजार रुपैयाँसहित सम्मान–पत्रले सम्मानित गरिएको विद्यालयका प्राचार्य राईले जानकारी दिए । उनका अनुसार हरेक वर्ष विद्यालयको अभिभावक तथा स्थापना दिवसको अवसरमा शिक्षकलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्दै आइरहेको छ ।
विद्यार्थीहरूले त्यसक्रममा नाटक, फेसन शो र नृत्यलगायतका प्रस्तुति गर्दै मनोरञ्जन गराए । विद्यार्थीहरूले आफ्नो रुचिअनुसारको विज्ञान प्रविधि, कम्प्युटर प्रविधि, कला साहित्यका बारेमा प्रदर्शनी गर्दै अभिभावकहरूलाई देखाएका थिए ।