धरान/ कलेजो खराब भई उपचाररत धरान–१९ एकतामार्गकी ममता धितालको परिवारले सहयोगको याचना गरेको छ ।

काठमाडौंको वीर अस्पतालमा १६ दिनदेखि उपचाररत धितालको परिवारले सहयोगको याचना गरेको हो । उनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भनी चिकित्सकले सल्लाह दिएको पीडितका भाइ सुमन धितालले जानकारी दिए ।

३७ वर्षीया धिताल धरान–९ मा कपडा पसलमा कार्यरत रहेकी थिइन् । एक्कासि ज्वरो तथा जिउ सुन्निने समस्या देखिएपछि जाँचका लागि अस्पताल लगिएको थियो । अस्पतालमा जाँच गर्दा उनको कलेजो खराब भइसकेको जानकारी दिएको धितालका छिमेकी अमित बर्देवाले बताए ।

उनको सहयोगका लागि हङ्कङमा बस्दै आएका चौकीबारी समाजलाई आग्रह गरिएको बर्देवाले बताए । कलेजो प्रत्यारोपण गर्न कम्तीमा पनि ४० लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएको परिवारले जनाएको छ । उक्त रकम परिवारको आर्थिक अवस्थाले नभ्याउने भएकाले सहयोगको याचना गरिरहेका हुन् ।