सिरहा । सिरहा जिल्लाको विभिन्न नगरपालिकामा सडक अतिक्रमण गरी बनाइएका टहरा धमाधम हटाउन शुरु गरिएको छ ।
नगरपालिकाहरुले नगर क्षेत्रभित्र सडक अतिक्रमण गरी सयौँको संख्यामा बनाएका टहराहरु धमाधम हटाउन थालेको हो । सडक खाली गर्न पटकपटक समय दिँदा पनि पसलेहरुले अटेरी गरेपछि नगरपालिकाले मंगलबार देखि टहरा तोडफोड गर्दै अतिक्रमित सडकका जग्गाहरु खाली गराउन थालेको छ ।
सिरहा जिल्लाका लहान, धनगढीमाई, गोलबजार,मिर्चैया, कर्जन्हा नगरपालिका अन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गका दायाँबायाँ अतिक्रमण गरी बनाइएका संरचना हटाउन शुरु गरिएको छ । राजमार्गको केन्द्रबाट दायाँ–बायाँ गरी ८२/८२ फिटको क्षेत्रमा बनाइएका अबैध संरचना हटाउने कार्य अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी सिरहाका गोपाल कुमार अधिकारीले बताए ।
सडक मिचेर बनाइएका टहरा, पर्खाल, ठेला पसल , फलफुल पसल,म्याजिक स्टाणड जस्ता संरचनाका कारण सडक भत्कने र सवारी दुर्घटना बढिरहेको छ । नगरपालिका, सुरक्षा निकाय, व्यवसायी, र राजनीतिक दलको समन्वयमा सडक क्षेत्र अतिक्रमण गरिएका संरचना हटाउनका लागि कार्य अगाडि बढाएका छौं’ अधिकारीले भने, ‘यसका लागि सात दिने सूचना गरेका थियौं।’
सडकमा बनाइएका संरचनाका र थुपारिएको निर्माण सामग्री हटाउनका लागि नगरपालिका जनप्रतिनिधि, सुरक्षा निकाय, व्यवसायी, स्थानीय बासिन्दा समेत स्वस्फूर्त रुपमा लागेका छन् । सडकको जग्गा अतिक्रमण गरी व्यापारिक प्रयोजनका संरचना निर्माण गर्ने, खेती गर्ने, निर्माण सामग्री राख्ने र व्यापारिक सामान थुपार्ने जस्ता कारणले दुर्घटना बढन थालेपछि अतिक्रमण हटाइन लागेको बताइएको छ ।