बलाहा/ सुनसरी प्रहरीले पहिलो महिला अधिकृत पाएको छ । इनरुवामा कार्यालय स्थापना भएयता प्रहरी अधिकृतको रूपमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा पहिलो महिला अधिकृतको दरबन्दी कायम भएको हो । प्रहरी सङ्गठनमा त्यसै पनि महिला प्रहरी कम छन् ।
कानून पालनाको क्रममा प्रहरीबाट महिलामैत्री व्यवहार हुन नसकेको आवाजसमेत बेलाबखत उठ्ने गरेको छ । जिप्रका सुनसरीमा रहेका यसअघिका सबै प्रहरी निरीक्षक अन्यत्र सरुवा भई गएका छन् ।
जिप्रका सुनसरी सरुवा भई आउनेमा प्रहरी अधिकृतमध्ये सञ्चिता थापा मगरसमेत एक हुन् । असइबाट प्रहरी सेवामा प्रवेश गरेकी थापा मगरले ६ महिनाको अवधिमै इन्स्पेक्टर पदमा नाम निकाल्न सफल भइन् ।
ललितपुर घर भएकी सञ्चिताका लागि सुनसरी अनुभव पहिलो भने होइन । थापा भन्छिन्, ‘सुनसरी निकै च्यालेञ्जिङ छ भन्ने सुनेको छु । त्यही च्यालेञ्जमा भविष्य तय हुने भएकाले चुनौति र सम्भावनाहरू बोकेर सुनसरी आएकी हुँ ।’
इन्स्पेक्टर थापा मगरले जनमैत्री व्यवहारका साथ प्रहरी सङ्गठनको मूल्य, मान्यता र सिद्धान्तबमोजिम कर्तव्य निष्ठासाथ जनसेवामा खटिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।