पथरी/ मोरङको कानेपोखरी गाउँपालिका क्षेत्रमा लागूऔषध प्रयोगकर्ता र बिक्रीवितरण नै मुख्य समस्या रहेको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।

कानेपोखरी–७ स्थित कानेपोखरी अस्थायी प्रहरी चौकीमा भएको प्रहरी र स्थानीयको परिचयात्मक कार्यक्रममा सो कुरा बताएका हुन् । अध्यक्ष काफ्लेले लागूऔषध कारोबार र प्रयोगकर्ता पहिलेको भन्दा कम भए पनि यसलाई समाधान गर्न चुनौति रहेको बताएका छन् । रमाइलो प्रहरी चौकीका प्रहरीलाई आफ्नो क्षेत्रमा पुग्न लगभग २३ किलोमिटर दूरी तय गर्नुपर्ने बाध्यता छ । त्यसले गर्दा यस क्षेत्रमा सुरक्षामा चुनौति थपिएको हो । यसको समाधान गर्न तल्लो भेगमा जस्तै वडा नं. १, २ र ३ को बीचमा प्रहरी चौकी स्थापना गर्नु जरुरी रहेको अध्यक्ष काफ्लेको भनाइ थियो ।

त्यसैगरी वडा नं. ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले गाउँको माथिल्लो भाग जङ्गलको क्षेत्र भएकोले लागूऔषध कारोबार र प्रयोगकर्ताहरू ढुक्कले कारोबार गर्ने बताएका थिए । युवायुवतीहरू नै लागूऔषधमा फस्ने भएकोले त्यसको समस्याको समाधान गर्न अभिभावक नै मुख्य भूमिका हुनुपर्ने वडाध्यक्ष अधिकारीले बताएका छन् ।

उपस्थित स्थानीयले गाउँपालिकाको माथिल्लो क्षेत्रमा जङ्गल भएकोले प्रहरी चौकीहरूमा सुरक्षा जवानहरू थप्नुपर्ने माग गरेका थिए । कतिखेर कहाँबाट मान्छेको हत्या गरी यहाँ जङ्गलमा ल्याएर फाल्ने प्रवृत्तिले समग्र कानेपोखरीलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको भन्दै स्थानीयले सुरक्षा मजबुत बनाउनु पर्ने माग राखेका थिए ।

भर्खरै सरुवा भएर इप्रका पथरीमा आएका डिएसपी दिलिप गिरीले एक महिनामा ११ जना फरार अपराधी पक्राउ गरिसकेको बताए । उनले भने, ‘फरार व्यक्तिहरू तपाईहरूले चिन्नुहुन्छ, लुकाउने प्रयास नगर्नु होला । बरु पक्राउ गर्न तपाईहरूले सहयोग गर्नुप¥यो । सवारी चलाउँदा मादक पदार्थ सेवन गर्ने, मोटरसाइकल चलाउँदा हेल्मेट नलगाउने र तीन जना चढ्नेमाथि हामीले निगरानी बढाएका छौं । पक्राउपछि छुटाउन नआउनु होला । अपराधी छुटाउन कसैसँग सम्झौता हुँदैन ।’

कार्यक्रममा डिएसपी गिरीले आफूले घूस कुनै हालमा नखाने र मातहतका प्रहरीले अपराधीलाई घूस मागेर छुटाउने प्रयास गर्छ भने त्यस्ता प्रहरीलाई कारबाही गरिने बताए । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) १ नम्बर प्रदेशका अध्यक्ष अर्जुन जम्नेली पनि सहभागी थिए ।

कार्यक्रममा वडा नंं. ५ का वडाध्यक्ष चरण गुरुङ, कार्यपालिका सदस्य पदमा गुरुङ, नेकपा कानेपोखरी सङ्गठन कमिटीका अध्यक्ष भोला अधिकारीलगायत अतिथि रहेका थिए । कार्यक्रम अस्थायी प्रहरी चौकी कानेपोखरीका असइ यम भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रहरी चौकीको पर्खाल शिलान्यास
सोही कार्यक्रममा कानपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र डिएसपी दिलिप गिरीले प्रहरी चौकीको पर्खालको शिलान्यास गरेका थिए । कानेपोखरी प्रहरी चौकीको घेराबारा निर्माणका लागि आर्थिक वर्ष ०७४/७५ मा ५ लाख, ०७५/७६ मा २ लाख र ०७६÷७७ मा २ लाख बजेट कानेपोखरी गाउँपालिकाले विनियोजन गरेको छ । चौकीको पर्खालको ६५ प्रतिशत काम सम्पन्न भएको निर्माण समतिका अध्यक्ष विष्णु श्रेष्ठले बताए ।