धरान / डेढ महिनादेखि स्थगित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सिनेट बैठक पुस अन्तिम साता हुने भएको छ ।
गत कात्तिक २२ गते तोकिएको सिनेट बैठकको सम्पूर्ण तयारी पूरा भए पनि अघिल्लो दिन तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बैठक स्थगित गरेका थिए । सिनेट बैठक बस्न नसक्दा प्रतिष्ठानका धेरै काम रोकिएका छन् ।

केही समयअघि मात्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री नियुक्त भएका भानुभक्त ढकालले पुस २५ गते सिनेट बैठक राख्ने तयारी गरेका हुन् । स्वस्थ्यमन्त्री प्रतिष्ठानका सह–उपकुलपति रहने व्यवस्था छ ।
यसअघिका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आफू निकटका व्यक्तिलाई रजिष्ट्रार बनाउन दबाव दिएका थिए । उनले चाहेका व्यक्ति रजिष्ट्रार नियुक्त नभएपछि सिनेट बैठक नै रोकेका थिए । उनले रजिष्ट्रार बिना बैठक हुन नसक्ने अडान लिएपछि बैठक स्थगित भएको थियो । प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठ भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि प्रतिष्ठान रजिष्ट्रारविहीन छ ।