भण्टाबारी/ कोशी गाउँपालिकाले कोशी पीडित महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सीपमूलक तालिमको थालनी गरेको छ । बाढीबाट प्रभावित महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले शुरुवाती चरणमा कोशी गाउँपालिका वडा नं. ४ स्थित जायिमा जैनब रजिलिल बनात मदरसालाई १० थान सिलाइ कटाइ मेसिन सोमबार हस्तान्तरण गरिएको छ । बनात अर्थात् युवती अध्ययन गर्ने जायिमा जैनब रजिलिल मदरसालाई १० थान सिलाइ कटाइ मेसिन हस्तान्तरण गरिएपछि नियमित पढाइसँगै तालिम दिने व्यवस्थासमेत गरिएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।
विभिन्न गैरसरकारी सङ्घ–संस्थामार्फत् विगत दुई वर्षको अवधिमा पटक–पटक महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने प्रयास अपेक्षाअनुसार उपलब्धिमूलक नभएपछि स्थानीय सरकार आफै कोशी क्षेत्रका महिलालाई आत्मनिर्भर बनाउने अभियानमा लागेको हो । स्थानीय सँगै विभिन्न जिल्लाबाट कोशी गाउँपालिका ४ स्थित जुद्धगञ्जमा अवस्थित जायिमा जैनब रजिलिल बनात मदरसामा अध्ययनरत २ सय २५ जना छात्रा लाभान्वित हुने अध्यक्ष अन्सारीको भनाइ छ ।
सार्वजनिक स्थानमा मेसिन राख्दा असुरक्षित हुने हेतुले मदरसामा राखिएको बताउँदै गाउँपालिकाकी उपाध्यक्ष अनिता यादवले त्यहाँबाट सिलाइ कटाइ सीप सिकेर आत्मनिर्भर बन्न आग्रह गर्छिन् । महिला आत्मनिर्भर भए समाजबाट विभिन्न प्रकारका विकृतिसमेत अन्त्य हुने भएकोले त्यहाँबाट सीप सिकेर आत्मनिर्भर बन्न कोशी क्षेत्रका महिलालाई उनले आग्रह गरिन् । गाउँघरमा बेरोजगार बसेका महिला तालिमपछि उद्यमी हुने भएकोले सिलाइ कटाइसँगै आगामी दिनमा मैनबत्ती, गुडिया बनाउने, अगरबत्ती बनाउने जस्ता तालिम दिने योजना रहेको गाउँपालिका अध्यक्ष अन्सारीको भनाइ छ ।
‘गरिखान सीप नै चाहिन्छ’ उनले भने, ‘कोशीको बाढीले बिजोग बनाएका परिवारका महिलालाई विभिन्न तालिम मार्फत् आत्मनिर्भर बनाउँदै गरिखान सघाउ पुर्याउने योजना छ ।’ हातमा सीप भएकोमा अवस्थामा महिला आफै आयआर्जन गर्नसक्ने भएकोले कोशी पीडित महिलालाई आत्मनिर्भर बनाउन स्थानीय सरकार आफै अग्रसरता देखाएको हो । घरमा बसेर महिलाले चुल्होचौको सम्हाल्ने बाहेक गरिखान महिलाको हातमा खास सीप नभएकोले सीपमूलक तालिमको थालनी गरिएको अन्सारीले बताए ।
घरमा फुर्सदिलो र बेरोजगार भएर जीवन व्यतित गर्नभन्दा पाएको अवसर सदुपयोग गर्न महिला आफै अग्रसर हुनु आवश्यक रहेको उपाध्यक्ष अनिता यादव बताउँछिन् । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा सम्पन्न भएको सिलाइ कटाइ हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष अनिता यादव, कोशी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष अमिन मियाँ नेपाली, जायिमा जैनब रजिलिल बनात मदरसाका शिक्षक–शिक्षिका, विद्यार्थीलगायतको उपस्थिति थियो भने उक्त कार्यक्रम कोशी गाउँपालिका अन्तर्गत समाजिक विकास शाखा प्रमुख राजकिशोर मेहताले सञ्चालन गरेका थिए ।