राजविराज  /  रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण प्रकृया विभिन्न बहानामा ढिलाई भई रहेको भन्दै निर्माणलाई तिब्रता दिन दवाव दिने उद्देश्यले गठित संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
प्रतिष्ठान निर्माण कार्यलाई तिब्रता प्रदान गर्न दवावका लागी गठित जन दवाव समितिका संयोजक सुखराम यादवको अगुवाईमा मंगलबार निमित्त प्रमुख जिल्ला अधिकारी आनन्दकुमार ठाकुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।
प्रतिष्ठान निर्माण कार्यमा भइरहेको ढिलाईका कारण स्थानिय जनतामा निरासा छाएको भन्दै ज्ञापन पत्र मार्फत अविलम्ब आवश्यक पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरिएको छ । नारा जुलुस गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको समितिका पदाधिकारीहरुले आफुहरुले सारेको एकसुत्रिय माग उपर सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने माग गरेका थिए ।
सरकारले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न निर्णय गरे अनुसार प्रतिष्ठान निर्माण काम अघि बढाउन दुई महिना अघि यहाँ पुर्वाधार तयारी विकास समितिको कार्यालय पनि स्थापना गरि सकिएको छ ।
प्रतिष्ठान निर्माण हुने स्थलमा माटो परीक्षण, भूमीको अवस्था, बातावरणीय प्रभाव र मुल्यांकन तथा डिपिआर लगायतका काम अघि बढाउन प्रारम्भीक खर्च वापत ४० करोड रुपैया बजेट समेत समितिलाई उपलब्ध गराई सकिएको भए पनि ति कामहरु अघि बढन नसकेकोमा ज्ञापन पत्र मार्फत चिन्ता व्यक्त गरिएको छ ।
प्रतिष्ठान निर्माण हुनु अगावै विभिन्न बहानामा अन्यत्र सार्ने षडयन्त्र समेत भईरहेको उल्लेख गर्दै ज्ञापन पत्र मार्फत स्थानिय जनतामा परेको अन्यौलता समाप्त पार्नकालागि पहल कदमी लिन प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको छ ।