धनकुटा/ धनकुटा नगरपालिका वडा नं.३ स्थित ग्रिन कागते, क्लिन कागते अभियानलाई सार्थक बनाउन यो वर्षदेखि कोशी राजमार्गदेखि बाहेकका सहायक सडकहरूमा कालोपत्रे गर्ने कार्य यस वर्षदेखि थालिएको छ । सडक कालोपत्रे गरेसँगै वडाबासीलाई आवत–जावत गर्न सहज भएको छ ।
वडा कार्यालयको पहल र प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय भोजपुरको ७४ लाख ५५ हजार ४ सय ३७ रुपैयाँ लगानीमा कागते चोकदेखि पारिपात्ले सुन्तलाजात अनुसन्धान केन्द्र जाने ८ सय मिटर सडक कालोपत्रे गर्ने कार्य धमाधम भइरहेको वडाध्यक्ष विकास घिमिरेले ब्लाष्टलाई बताए ।
उनले पूर्वाधार विकास कार्यालयमार्फत् मुकुल निर्माण सेवा भोजपुरले आर्थिक वर्ष ०७५÷७६ मै निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा कालोपत्रे गर्ने कार्य वर्षाको कारण रोकिएको र अहिलेको सुख्खा मौसममा शुरु गरिएको बताए । घिमिरेले एक हप्ताभित्र कागते चोकदेखि पारिपात्ले जाने ८ सय मिटर सडक कालोपत्रे गर्ने कार्य सकिने बताए ।
वडा कार्यालयको पहलमा भौतिक पूर्वाधार अन्तर्गत दिगो विकास गर्ने वडाको गौरवको योजनाको रूपमा लिइएको पनि वडाध्यक्ष घिमिरेले बताए । उनले कागते चोकदेखि सुन्तला जात अनुसन्धान केन्द्र पारिपात्लेसम्मको दूरी ३ किलोमिटर रहेको र आगामी वर्षमा पनि कागते पारिपात्ले सडक कालोपत्रे गर्ने कार्यलाई निरन्तरता दिने बताए । त्यसका लागि प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयसँग आवश्यक समन्वय भइरहेको घिमिरेले बताए । कागते पारिपात्लेबाहेक अन्य टोलका सडक पनि कालोपत्रे गर्ने कार्य योजना छ कि भन्ने जिज्ञासामा उनले तत्काललाई नभएको बताए ।
सडक कालोपत्रे गर्ने कार्यको अनुगमन गरिरहेका इञ्जिनियर सञ्जय सिंहले कालोपत्रेको मोटाइ ३० एमएम भएको बताए । इञ्जिनियर सिंहले भने, ‘सडक कालोपत्रेको सबैभन्दा राम्रो क्वालिटी भनेको आस्मान हो, तथापि पनि हाल प्राप्त बजेट र स्टिमेटअनुसार भइरहेको कालोपत्रे भने प्रिमिक्स क्वालिटीको हो ।’ उनले दीर्घकालीन रूपमा नभए पनि केही वर्ष सडकको कालोपत्रे टिक्ने दाबी गरेका छन् ।
उनले हाल सुनसरीको तरहरामा भइरहेको सडक कालोपत्रे भने आस्मान क्वालिटीको भएको र त्यस्तो कार्यको लागि सोही अनुरूपको बजेट र स्टिमेट गर्नुपर्ने बताए ।सडक कालोपत्रे भएसँगै खुशी हुँदै स्थानीय गोपाल वाग्लेले भने, ‘वर्षौंदेखि हिलोमा हिँड्नु पर्दथ्यो, अब हिलोमा हिँड्नु पर्ने समस्या सदाको लागि टरेको छ ।’