मधुमल्ला/ मोरङ उर्लाबारी–७ को मावा समृद्धि बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष र सचिवको मिलेमतोमा संस्थाका एक शेयर सदस्य ऋणीको घरजग्गा दृृष्टिबन्धक पास गर्नुपर्नेमा राजीनामा पास गरेको खुलेको छ ।

उर्लाबारी–४ फूलबारी चोककी कमला तामाङले १० धुर जग्गा र डेढ तले पक्की घर धितो राखेर सहकारीबाट २५ लाख ऋण लिएकी थिइन् । यद्यपि संस्थाका अध्यक्ष ध्रुवचन्द्र पराजुली र सचिव मातृका दाहालले संस्थाको नाममा दृष्टिबन्धक पास नगरी सोझै आफ्नै नाममा राजीनामा पास गरेका हुन् ।

पीडित कमला तामाङले शनिबार उर्लाबारीमा पत्रकार सम्मेलन गर्दै सहकारीका अध्यक्ष र सचिवको मिलिभगतमा आफ्नो जग्गा दृष्टिबन्धक नगरी राजीनामा पास गरेको आरोप लगाइन् । उनका अनुसार २०७४ भदौ १८ गते सो सहकारीको साधारण शेयर सदस्य भई नियमित रूपमा कारोबार गर्दै आएकी थिइन् । उनलाई २०७५ माघ १३ गते दुई लाख ५० हजार शेयर रकम पु¥याएकी थिइन् । उर्लाबारीको मधुमल्ला रोडमा हेवन भ्याली होटल सञ्चालन गर्दै आएकी तामाङले आफ्नो व्यवसायलाई बढाउनका लागि सहकारीबाट २५ लाख रुपैयाँ ऋण माग गरेकी थिइन् ।

सहकारीलाई देखाएर ऋण उपलब्ध गराए पनि अध्यक्ष पराजुली र सचिव दाहालले सहकारीको नाममा नभई जग्गा र घर आफ्नै नाममा राजीनामा पास गराएको खुलेको हो । जालसाजी गरी अध्यक्ष पराजुली र सचिव दाहालले सहकारीमा राखिएको भनिएको घरजग्गा आफ्नै नाममा पारेको थाहा पाएपछि ऋणी कमला तामाङका नाबालक छोराहरू कर्मा छिरिङ तामाङ र लेकी दोर्जे तामाङले जिल्ला अदालत मोरङमा अंश हकदाबी गर्दै मुद्दा दायर गरेका थिए ।

गत कार्तिक २४ गते संस्थामा तामाङको नाममा रहेको १७ लाख ५० हजार ८ सय १५ साँवा ब्याज चुक्ता गरेको देखिएको छ । तामाङले गत फागुनसम्ममै ८ लाख रुपैयाँ किस्ता बुझाइसकेकी थिइन् । यसअघि कमला तामाङले सुन–चाँदीको व्यापारीसमेत रहेका सचिव दाहालको पसलमा एनएमबी बैङ्कको चेकबुक छाडेकी थिइन् ।

सोही क्रममा अध्यक्ष र सचिवले एकप्रति चेक गायब पारेको तामाङले बताइन् । मुद्दाका क्रममा अदालती प्रक्रिया शुरु भएपछि सोही चेकमा कमला तामाङको कीर्ते हस्ताक्षर गरी कात्तिक २४ गते नै एनएमबी बैङ्कमा १७ लाख १६ हजार ६ सय ५० रुपैयाँ निकाल्न खोजिएको तामाङले बताएकी छन् । सोही दिन सहकारी संस्थामा आफ्नो नाममा रहेको ऋण चुक्ता भएको पाइए पनि सोही चेकमार्फत् बैङ्कबाट पुनः रकम निकाल्न खोजेको तामाङले बताइन् ।

खातामा सो बराबरको रकम नदेखिएपछि सहकारीका व्यवस्थापक अशेषकुमार थापाले संस्थाको लेटरप्याडमार्फत् एनएमबी बैङ्क शाखालाई तामाङको खातालाई कालोसूचीमा राखी कारबाही अगाडि बढाउन भन्दै निवेदन दिएका थिए । पीडित तामाङले पत्रकार सम्मेलनमार्फत् आफूलाई न्याय दिलाइदिन सहकारीका नियामक निकायलगायत सम्बन्धित सरोकारवाला सबैमा आग्रह गरेकी छन् । उनले आफूलाई सहकारीको नाममा ऋण दिएर व्यक्तिको नाममा घरजग्गा पास गराएको भन्दै अध्यक्ष पराजुली र सचिव दाहाललाई कारबाही गर्न सम्बन्धित निकायमा आग्रह गरेकी छन् ।

यस विषयमा शनिबार सहकारीका अध्यक्ष ध्रुव पराजुलीसँग टेलिफोन सम्पर्क गर्दा मूल्याङ्कनले १७ लाख रकममात्र सहकारीबाट निकासा पाउने भएको र थप अपुग रकम व्यक्तिगत रूपमा लगानी गरिदिएको दाबी गरे । तामाङसँगको आपसी समझदारी र विश्वासको आधारमा थप रकम दिएको र तामाङले नै सहकारीको नाममा नभई सञ्चालकको नाममा जग्गा पास गर्ने भनेको पराजुलीले जिकिर गरे । साथै आफ्नो संस्थाको लगानी रकम चुक्ता गरे बिना ब्याज नै जग्गा फिर्ता पास गरिदिने पराजुलीले बताए । काम गर्ने क्रममा आफ्नो तर्फबाट गल्ती भएको पाराजुलीले स्वीकारेका छन् ।