धनकुटा/ एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले मुख्यमन्त्री परिवर्तनको विषय पत्रपत्रिकाहरूको हल्ला मात्र भएको बताएका छन् ।
प्रेस सङ्गठन नेपाल धनकुटाले बुधबार धनकुटामा गरेको पत्रकार भेटघाटको क्रममा अहिले मिडियामा आएको मुख्यमन्त्री परिवर्तनको हल्ला निराधार र आधारहीन भएको बताए । उनले भने, ‘मुख्यमन्त्री परिवर्तनको कुरा पार्टीभित्र छलफल हुनुप¥यो । त्यो अहिलेसम्म भएको पनि छैन र हुन पनि सक्दैन ।
आधारहीन कुरामाथि भ्रममा नपर्न आग्रह गर्दछु ।’ मुख्यमन्त्रीले परिणाममुखी काम गर्न नसकेको जिज्ञासामा उनले सङ्घीयताको अभ्यास पहिलो पटक भएकाले पनि परिणाम नदेखिएको स्पष्ट पारे । उनले चाँडै नै परिणाम देखिनेसमेत तर्क गरे ।
उनले धनकुटामा ५ सय शश्यासहितको टिचिङ अस्पताल सञ्चालनमा आउने बताउँदै त्यसका लागि सम्भाव्यता अध्ययन गर्न स्वास्थ्य मन्त्रालयका सचिव र हाल कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.गुणराज लोहनीको संयोजकत्वमा विज्ञ समूह गठन गरेको बताए ।
विज्ञ समूहले ढिलोमा दुई महिनाभित्र प्रतिवेदन दिनेसमेत बताए । प्रदेश सरकारले ४५ वटा कानून बनाइसकेको र १५ वटा मस्यौदा तयार भएकाले अब प्रदेश सरकारको काम तीव्र गतिमा अगाडि बढ्ने दाबी गरे ।