भद्रपुर/ झापाको भद्रपुर नगरपालिकामा पर्ने मेचीपारि गाउँमा एउटा सन्थाल बस्ती छ । नेपाल र भारतको सीमा छुट्याउने १०५ नम्बर पिलर नजिकैको यो बस्तीमा रहेका १४ घरपरिवारमध्ये ७ परिवारलाई करिब २० वर्षअघि भारतले राशन कार्ड दिएर भारतीय नागरिक बनाउन खोजेको स्थानीय बाबुला हाँस्दालाई अहिले पनि प्रष्ट सम्झना छ ।
त्यसबेला सीमा पिलर कुनै पनि थिएन, भारतको ठाकुरगञ्जबाट आएको भारतीय अधिकारीको टोली गाउँमै आएर राशन कार्ड दिएको घटना सुनाउँदै उनले भने, ‘ हाम्रो जमिन लिनलाई भारतीय बनाउन खोजिएको रहेछ, त्यसबेला थाहा पाइनँ, अहिले थाहा भयो ।’
अहिले उनीहरूले भारतीय राशन कार्ड त्यागिसकेका छन् । ‘वि.सं.२०६३ सालको टोलीमा नेपाली नागरिकता लिएर नेपाली भइसकेका छौं’ –उनले भने । पहिला मेचीपारि गाउँमा एउटा पनि पिलर थिएन, अहिले जताततै साना तथा ठूला पिलर गाडिएको स्थानीय बताउँछन् ।
१०४ नम्बर पिलरनजिकै अहिले भारतको सन्थालबस्ती छ । पहिला त्यो बस्ती नेपालको थियो । ‘पहिला हामी नेपाली नागरिक थियौँ । नेपालको धनीपुर्जा पनि थियो, झण्डै २० वर्ष भयो हामी भारतीय नागरिक भएको’ ६२ वर्षीय सम मुर्मु भन्छन्, ‘म सानैदेखि यहीँ छु, पहिला यहाँ कुनै पिलर थिएन । मियाँबस्तीमा एउटा मात्र पिलर थियो । २० वर्षअघि १०४ नम्बर पिलर यहाँ राखियो ।’ अहिले त्यो पिलर भारतले सार्दैसार्दै मेची नदीमै पु¥याइसकेको छ । उनी भन्छन्, ‘पिलरले सीमा छुट्याए पनि दुवै देशका बासिन्दा मिलेर बसेका छाैँ, हामीमा त्यस्तो केही विवाद पनि छैन ।’ दुवै देशको भूमिमा दुवै देशका नागरिक मिलेर जोतभोग गर्दै आइरहेको उनले बताए ।
यस्तो पीडा झापाको भद्रपुर नगरपालिका –३ स्थित मेचीपारि गाउँको हो । मेची नदीले टापु आकार बनाइदिएको मेचीपारि गाउँमा १ सय ५५ घरधुरी छन् । गाउँमा महतो, राजवंशी र सन्थाल समुदायका बासिन्दा वर्षौंदेखि बसोबास गर्दै आइरहेका छन् । १०४ र १०५ नम्बर सीमास्तम्भले घेरिएको गाउँलाई भारतले नेपाली बस्ती जोगाएर अङ्ग्रेजी ‘भी’ आकारले नेपाली भूमि कब्जामा लिइसकेको छ ।
हराएको र खोलाले बगाएको भन्दै भारतले सीमामा नयाँ स्तम्भ गाड्ने क्रममा हरेक पटक नेपाली भूमि मिच्दै आइरहेको छ । सो गाउँमा नेपालको सरकारी कार्यालयका नाममा ‘मेचीपारि प्रहरी चौकी’ र ‘मेचीपारि आधारभूत विद्यालय’ छन् । ‘गाउँमा प्रहरी चौकी र सरकारी विद्यालय नभएको भए वर्षौंअघि भारतीय नागरिक भइसक्थ्यौँ’ ६९ वर्षीय श्रीप्रसाद महतोले सुनाए, ‘भारतले वर्षौंअघि यो गाउँ आफ्नो कब्जामा लिइसकेको हुन्थ्यो, प्रहरी र शिक्षककै कारण अहिलेसम्म नेपाली भूमिमा छाँै ।’
महतोका अनुसार भारतमा ब्रिटिस शासन हुँदा नेपालको भूमि अहिले गाडिएको पिलर भन्दा तीन किलोमिटर पर थियो । उनी भन्छन्, ‘भारतले सीमा मिच्दैमिच्दै अहिले बग्दै आएको मेची नदी नै लगिसक्यो ।’ वि.सं.२०२० सालमा अहिले भारतले कब्जामा लिइसकेको भू–भागबाट मेची नदी बगेको सुनाउँदै महतोले भने, ‘अहिले मेची नदी बग्ने ठाउँ नजिकै बस्ती थियो, त्यहाँबाट पानी बग्न थालेपछि बस्ती सरेर अहिलेको ठाउँमा आएको हो ।’ उनका अनुसार त्यसबेला कुनै सीमा पिलर थिएन । एउटा जङ्गेपिलर थियो । त्यो ठाउँ भारतको विहार, किशनगञ्ज जिल्लाको निमुगुरी (मियाँबस्ती) मा पर्छ ।
‘जङ्गे पिलर हुँदाहुँदै करिब तीन किलोमिटर छाडेर भारत नेपालमा प्रवेश गरिसकेको छ’–उनले भने । पिलरको विषयमा केही बोल्यो भने भारतीय सुरक्षाकर्मीले दिल्ली पुर्याइदिने धम्की दिने गरेको उनले सुनाए । ‘धम्की आउँदा पनि यहाँका प्रशासन र नेता केही बोल्न सक्दैनन्, अनि बाध्य भएर सीमा मिचेको हेर्र्दै आउनुपरेको छ’ उनी दुःखेसो पोख्छन्, ‘भारतले साना रिफ्रेन्स पिलर खेतमा ल्याएर गाडे पनि हामीले जोतभोग गर्न छाडेका छैनौं ।’ भारतीय नागरिक नेपाली भूमिमा आएर जोतभोग गर्छन् ।
अनि नेपाली पनि भारतीय भूमिमा जोतभोग गर्दै आइरहेको उनी बताउँछन् । ‘अहिले दुवै पक्षले जोतभोग गर्दै आइरहेको भूमि नेपालकै हो’ उनले भने, ‘अहिलेसम्म भारतीय सुरक्षाकर्मीले केही बोलेका छैनन्, बोलेको दिन यहाँ विवाद पक्कै हुन्छ ।’ भारतले पिलर सार्दै नेपाली भूमि मिचिसकेको तीनदेखि चार वर्ष भएको स्थानीय ६२ वर्षीय लेकेरु राजवंशी बताउँछन् । उनी सुनाउँछन्, ‘नेपाली भूमि मिचेको विषयमा भारतीय पक्षलाई सोध्दा ‘सरकारका हुकुम है हम क्या करेङ्गे’ भन्ने जवाफ दिन्छन् ।’
































