बेलबारी/ प्रदेश नं. १ का कानून मन्त्री हिक्मत कार्कीले पशुपतिनगरमा भारतले गरेको सीमा अतिक्रमणलाई रोक्न सङ्घीय सरकारमार्फत् कूटनीतिक पहल गरिने बताएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङद्वारा विराटचोकमा आयोजित जिल्लास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा शनिबार नागरिकको प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले सो बताएका हुन् । पशुपतिनगरमा टावर निर्माणमा भारतले अवरोध पु¥याएको भन्ने विषयमा पनि सङ्घीय सरकारलाई अवगत गराइसकेको र लिपुलेक, कालापानीलगायत क्षेत्रको सीमा अतिक्रमणलाई रोक्न वार्तामार्फत् समाधान गर्न सरकारले पहल गरिसकेको बताए । साथै अर्को प्रश्नको जवाफमा मन्त्री कार्कीले अब फोनको भरमा अपराधी नछुट्ने पनि बताए । सांसद् आलम जेल चलान भएको प्रसङ्ग जोड्दै अब कुनै पनि राजनैतिक आवरणमा अपराधी उम्कन नसक्ने बताए ।
नागरिकहरूको गुनासोको सुनुवाइ गर्न जिल्ला प्रहरी कार्यालय मोरङले आयोजना गरेको कार्यक्रममा स्थानीय प्रहरी, जिल्ला प्रहरी, स्थानीय तह र प्रदेश सरकारका कानूनमन्त्री हिक्मत कार्कीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय सङ्घ–संस्थाका प्रतिनिधिहरूले सीमा अतिक्रमण, फोनको भरमा अपराधी छुट्नेलगायत प्रश्न मन्त्री कार्कीलाई गरेका थिए ।
कार्यक्रममा सहभागीले प्रदेश सरकारको धारणादेखि लिएर शान्ति सुरक्षा, गाउँपालिका नगरपालिकाको प्रशासनमा भएको बेथितिबारे गुनासो राखेका थिए । विराटचोकका प्रकाश श्रेष्ठले केराबारीको जङ्गलमा अचेत अवस्थामा फेला परेका महेन्द्र धिमालको विषयमा घटना नियोजित भएको हुनसक्ने बताउँदै गम्भीर सुझाव दिएका छन् । त्यसैगरी केराबारीमा मौलाउँदै गरेको लागूऔषध दुव्र्यसनको कसरी निदान हुन्छ भन्ने बारेमा केराबारीका विवेक भूजेलले प्रश्न गरेका थिए । साथै विद्यालय हाताभित्र हुने गरेको राजनीति र जेब्राक्रसका विषयमा सुकुनाका विद्यार्थीहरूले प्रश्न राखेका थिए ।
त्यसैगरी स्थानीय आदिवासी जनजाति सुन्दरहरैंचाका सुमन राईले मद्यपानका लागि चाहिने मर्चाको बिक्रीमा लगाएको रोकप्रति पनि गुनासो राखेका थिए । त्यसैगरी दलितमाथि अझै पनि समाजमा विभेद थोपरिरहेको भन्दै सुन्दरहरैंचाका जनप्रनिधिले गुनासो पोखेका थिए । स्थानीय खोलाको जथाभावी उत्खनन् तथा भत्किएको सडकले निम्त्याएको दुर्घटना बारे स्थानीय बासिन्दाले गुनासो राखेका थिए । सुन्दरहरैंचा नगरपालिकाको कार्यालय पूर्वशर्त अनुसार सलकपुरमा राखिनु पर्नेमा त्यहाँ नराखिएको भन्दै अविलम्ब त्यसको कार्यान्वयन गर्न दुलारीका अजम्वर राईले माग राखेका थिए । त्यसैगरी अगुवा महिला कमला मास्केले कृषकबाट चर्को कर असुलेर एक करोडको गाईको मूर्ति बनाउनुको अर्थ नरहेको बताइन् । कार्यक्रममा वडाध्यक्षहरूले पनि शान्ति सुरक्षा एवम् ट्राफिक नियमका बारेमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा ग्रामथान, केराबारी, बेलबारी, सुन्दरहरैंचाका नागरिकहरू सहभागी भई आ–आफ्ना जनप्रतिनिधि तथा प्रहरी र मन्त्रीलाई प्रश्न गरेका थिए । कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की, बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव ढकालले आ–आफ्नो क्षेत्रका नागरिकहरूले राखेका जिज्ञासाहरूको समाधान गरेका थिए । त्यसैगरी मोरङका एसपी विश्व अधिकारीले शान्ति सुरक्षासम्बन्धी जिज्ञासाको जवाफ दिएका थिए । इलाका प्रहरी कार्यालय बेलबारीको संयोजनमा भएको कार्यक्रममा मोरङका १७ वटै पालिकाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।