उदयपुर/ मापदण्ड विपरीत खोलाको ढुङ्गा उत्खनन् गरेको भन्दै उदयपुरमा स्थानीयबासीले टिपर रोकेर विरोध गरेका छन् । बेलका नगरपालिका–४ को लालबजारका स्थानीयवासीले लोड भएका २० वटा टिपरलाई बिहीबारदेखि रोकेर विरोध गरेका हुन् ।
सिरहाको बीपी कन्स्ट्रक्सनले बेलकाको ४ र ६ नम्बर वडाको सिमानामा पर्ने सिसुवा खोलाबाट तोकिएको मापदण्डभन्दा बढी उत्खनन् गरी रातारात ढुङ्गा निकासी गरेकाले विरोध गरेको स्थानीय महिला समाजसेवी माया ओलीले बताइन् ।

मापदण्ड विपरीत खोला उत्खनन् गरेर रातारात ढुङ्गा निकासी गर्दा प्रत्यक्षरूपमा स्थानीबासीले यसको असर भोग्नुपर्ने ओलीले बताइन् । उनले भनिन्, ‘नियमलाई मिचेर खोला दोहन गरेपछि प्राकृतिक विपत्तिको खतरा हुन्छ । खोला दोहनबाट आइपरेको विपत्ति भोलि हामीले नै भोग्नु पर्छ ।’ वर्षायाममा परेको झरीसँगै आउने बाढी पहिरोले स्थानीयवासीको गाँस, बास र कपास खोसिने भएकाले सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने ओलीले बताइन् । मानवीय गतिविधिले प्राकृतिक प्रकोप निम्त्याउन दिन नहुने उनले बताइन् ।

स्थानीय प्रेम अधिकारीले ठेक्का लगाउने प्रक्रिया नै गलत भएको आरोप लगाएका छन् । गैरकानूनीरूपले टेण्डर लगाइएकाले आज यो दिन आएको उनले बताए । अब यसलाई ठेक्कामै लगाउने भए यो टेण्डरलाई बदर गरी अर्को टेण्डर आह्वान गर्नुपर्ने उनको दाबी छ । दुःखले घर राख्ने ठाउँ बनाएका जग्गा–जमिन मापदण्ड विपरीत खोला उत्खनन्ले वर्षामा सबै चट हुने भएकाले विरोध गरेको अधिकारीले बताए । त्यतिकै त खोलामा आउने बाढीले खेत कटान गर्नुका साथै डुबान हुने र अझ नियम विपरीत खोला उत्खनन् गरेपछि आपत्ति निम्तिने उनले बताए ।

उत्तरी भेगको महाभारत सामुदायिक वन क्षेत्रमा रहेको खोलाबाट भू–क्षय हुने गरी दुवै वडाका बस्तीहरूलाई नै जोखिममा पारेर ढुङ्गा उत्खनन् गरेको स्थानीयले आरोप लगाएका छन् । विरोधकर्ताहरूले डिभिजन वन कार्यालयका प्रतिनिधि आएर नबुझेसम्म ती टिपर नछाड्ने अडान लिएका छन् ।वार्ताको लागि प्रयास गरे पनि नगरप्रमुख नभई वार्तामा नबस्ने विरोधकर्ताहरूको अडानले कुनै सहमति हुन सकेको छैन । खोलाछेउमा जग्गा हुने र नहुने बीचमा दुई थरिका कुरा आएकाले सहमति हुन सकेको छैन । समस्याको समाधान चाँडै गर्ने वडाले जनाएको छ ।

गत कात्तिक १९ गते डिभिजन वन कार्यालयले त्यस क्षेत्रको ढुङ्गा उत्खनन् गर्नु जोखिमपूर्ण भन्दै बेलका नगरपालिकालाई पत्रसमेत काटेको थियो । ठेकेदार कम्पनीबाट कमजोरी भएको पालिकाले जनाएको छ । स्थानीयका अनुसार कन्स्ट्रक्सनले भदौ २३ गते गिद्धेरी खोला, सिसुवा खोला, मूर्ति खोला, जसुदा खोला, बगुन्दा खोला, कासेपा खोला, सेती खोला, धाराखोला र खडारीखोला ३ करोड ५७ लाखमा ठेक्का पारेको थियो ।