धरान/ वामपन्थी किल्लालाई भत्काउन नेपाली काङ्ग्रेसले धरानमा मतदातासँग भोट माग्न शुरु गरेको छ । उपनिर्वाचनका लागि हतारिएको धरान काङ्ग्रेसले गत असोज २५ गते नै सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेकाले घरदैलो अभियान चलाउन सहज भएको हो । धरान उपमहानगरपालिकामा ०७५ साउन १ गते तारा सुब्बाको निधन भएपछि प्रमुख पद रिक्त रहेको छ । निर्वाचान आयोगले धरानसहित मुलुक भरिका रिक्त बनेका अन्य स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा उपनिर्वाचन घोषणा गरेपछि चुनावी माहोल तातिएको छ ।
पहिलो चरणमा काङ्ग्रेसले सर्वसम्मत उम्मेदवार सिफारिस गरिएका नगर सभापति तिलक राईलाई लिएर धरान उपमहानगरका ग्रामीण क्षेत्रका मतदाता रिझाउन घरदैलो कार्यक्रममार्फत भोट मागिरहेको छ । काङ्ग्रेसले निर्वाचन आयोगले मङ्सीर १४ गते उपनिर्वाचन गर्ने र कात्तिक १५ सम्ममा उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको छ । वामपन्थी किल्ला भत्काएर नेकपालाई चुनौती दिन काङ्ग्रेसले दुईसाता अगाडिदेखि चुनावी अभियानलाई तीव्र बनाएको छ । वडानम्बर ४ मा घरदैलो अभियान चलाउँदै भोट माग्न पुगेका नेपाली काङ्ग्रेसका तर्फबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएका राईले भने, ‘धरानमा पहिलो पटक सर्वसम्मतले उम्मेदवार सिफारिस भएकाले पनि मतदाता र काङ्ग्रेसमा उत्साह जागेको छ । त्यसैको परिणाम हामी घरदैलो अभियानलाई थप तिव्र बनाएका छौं ।’ उनले चुनावी अभियानलाई आक्रामक बनाउन काङ्ग्रेसले धरानका सबै वडाहरू र टोलटोलमा चुनाव प्रसार प्रसार समिति गठन र कार्यालय स्थापना गरिरहेको बताए ।
धरानको विकास निर्माणका लागि मतदाताहरू परिवर्तन चाहने भएकाले धरानको गाउँ गाउँमा घरदैलो अभियान चलाउने राईले बताए । उनले धरान उपमहानगरपालिका भए पनि ग्रामीणक्षेत्रका बासिन्दा उपमहानगरपालिकाबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित बनेको बताए । मतदाताहरूले पनि उपमहानगरपालिका अभिभावक बन्न नसकेको गुनासो गरेको बताए । उनले शुरु मै घरदैलो अभियान चलाएर काङ्ग्रेसी मतदाताको मात्र मत आकर्षित नगरेर ‘न्यूट्रल भोट’ तान्न प्रयासरत रहेको बताए । साविक पाँचकन्या र विष्णुपादुका गाविस धरान नगरपालिका मा गाभेर उपमहानगरपालिका बनाइए पनि उपमहानगरपालिकाबाट पाउनुपर्ने सेवा सुविधा मुख्य शहरमा बस्नेले भन्दा कमै पाएको अवस्थालाई अप्रत्यक्ष मुद्दा बनाएर चुनावलाई लक्षित गरेर काङ्ग्रेस गाउँ पसेको हो । सडक, विद्युत्, पानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुरामा पछि परेका धरान उपमहानगरपालिकाका ग्रामीण क्षेत्रका मतदातालाई आकर्षित गर्न काङ्ग्रेसले रणनीति बनाएको छ ।
काङ्ग्रेस उम्मेदवारले भोट माग्न घरदैलो अभियानलाई तीव्र बनाइरहेको बेला नेकपा भने कसलाई उम्मेवादर बनाउने र सिफारिस गर्ने भन्ने विषयमा अलमलिएको छ । नेकपामा प्रमुख पदको उम्मेदवार आकाङ्क्षीको सङ्ख्या बढी भएको र पुरानो पनि भएकाले माआवोदी केन्द्रका स्थानीय नेताहरू बीचको खिचातानीले गर्दा पनि उम्मेदवार सिफारिस गर्न सकस भएको हो । नेकपा केन्द्रीय कमिटीले उम्मेदवार सिफारिस गर्दा अनिवार्य १ महिलासहित तीन जनाको नाम पठाउन निर्देशन दिएको छ ।
नेकपा धरान उपमहानगर सदस्य राजमणी निरौलाले केही दिनभित्र उम्मेदवार सिफारिस गरिसक्ने बताए । उनले नेकपामा सर्वसम्मत उम्मेदवार सिफारिस गर्न आन्तरिक छलफल चलिरहेको बताए । नेकपामा हाल चर्चामा जिल्ला सदस्य प्रकाश राई र प्रदेश कमिटी सदस्य विजय राई रहेका छन् । प्रकाश र विजय बाहेक पार्टी कार्यकर्ता र मतदाता वृत्तमा पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बोको पनि उत्तिकै चर्चा चलेको छ । नेकपा भित्रै माओवादी केन्द्रबाट आएका चोत्लुङ र आइन्द्र विक्रम बेघाले उम्मेदवार सिफारिस गर्दा आफूहरूको नाम पनि जानै पर्ने लविङ गरिरहेका छन् । यता समाजवादी पार्टीले गजेन्द्र इस्वोलाई मेयरमा उठाएको छ ।
निर्वाचन आयोग सुनसरीका अनुसार धरान उपमहानगरपालिकामा थपिएका सहित ९२ हजार ८ सय ५२ जना मतदाताले आगामी उपनिर्वाचनमा हुने मतदानमा भाग लिनेछन् । स्थानीय तहको निर्वाचनमा कुल मतदाता ८९ हजार ५ सय ४९ मतदाता रहेका थिए । तात्कालीन एमालेका उम्मेदवार तारा सुब्बाले २० हजार ९ सय ७५ मत प्राप्त गर्दै मेयर बनेका थिए । उनका निकट प्रतिद्वन्दी काङ्ग्रेसका तिलक राईले १६ हजार १ सय २ मत प्राप्त गरेका थिए । सङ्घीय समाजवादी पार्टीसँग गठबन्धन गरेको माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याउँदै तेस्रो स्थान बनाएका थिए ।