दमक/ पृथकतावादी आन्दोलन छोडेर मूलधारको राष्ट्रिय राजनीतिमा प्रवेश गरेका डा. सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले झापामा जनजागरण तथा सङ्गठनात्मक गतिविधिलाई तीव्र पारेको छ ।

पार्टीका अध्यक्ष डा. सिके राउतले जिल्लास्तरीय रूपमा भदौ २९ गते बिर्तामोडमा कार्यकर्तालाई जनजागरण तथा प्रशिक्षण दिएपछि जिल्लामा पार्टीको गतिविधि तीव्र भएको हो । आगामी दिनमा जनमत पार्टीको भविष्य सुनिश्चित छ, जनमत पार्टीमात्र मधेशीहरूको जीवनस्तरको एकमात्र पार्टी हो भन्दै जनमत पार्टीका नेतृत्वतहले प्रशिक्षण दिँदै आएको छ ।

पार्टीका केन्द्रीय सदस्य कौशिल्या महतोको नेतृत्वमा गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका,बाह्रदशी गाउँपालिकालगायतमा पार्टीको विभिन्न समिति र उपसमितिहरू गठन गर्दै जनजागरण अभियान गर्दै आएको छ ।

गौरीगञ्ज गाउँपालिका वडा नं. १ देखि ६ मा महिला, विद्यार्थी, युवा, जनपरिषद् समितिहरू गठन गरिएको केन्द्रीय सदस्य कौशिल्या महतोले बताइन् । गौरादह नगरपालिका वडा नं. ७ मा जनपरिचालन समिति, बाह्रदशी गाउँपालिकामा महिला तथा जनपरिषद् समिति गठनसमेत भइसकेको उनले बताइन् ।

केन्द्रीय सदस्य महतोको नेतृत्वमा भएको प्रशिक्षण कार्यक्रममा जिल्ला अध्यक्ष दशरथ महतो, भीम राजवंशी, हुलास राजवंशी, नागेन्द्र साहुलगायतको उपस्थितिमा सञ्चालन भएको हो । जनमत पार्र्टीले आफ्नो पकड बनाउने उद्देश्यले विभिन्न पटक प्रशिक्षण तथा सङ्गठन विस्तारमा जोड दिँदै आइरहेको छ ।

यसै अनुरूप जनमत पार्र्टीका सम्पूर्ण युवाहरूलाई प्रशिक्षण दिई गाउँ–गाउँमा परिचालन गरी जनतालाई जागरुक बनाउने उद्देश्यका साथ लगातार प्रशिक्षणहरू चलाइएको जनमत पार्टीले जनाएको छ ।