धरान /  कवि विमल गुरुङको ४९ औं जन्मजयन्तीको अवसरमा २९ औं राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ ।
कवि विमल गुरुङ स्मृति पुस्तकालयले हरेक वर्षझैँ यसवर्ष पनि कात्तिक १९ गते महोत्सव गर्ने भएको हो । पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार महोत्सवमा पठाइएको कविताहरुलाई दुई चरणको निर्णयमार्फत् पुरस्कृत गरिने भएको छ । गत वर्ष २ सयभन्दा बढी कविताहरु प्राप्त भएका थिए । यसवर्ष पनि उक्त संख्यामै कविताहरु प्राप्त हुने विश्वास आयोजकले लिएको छ । महोत्सवमा छनौट भएका टप १० कवितालाई प्रतियोगीहरुले नै वाचन गर्नुपर्ने प्रावधान रहेको पुस्तकालयका सचिव गणेशप्रसाद तिम्सिनाले बताए ।
महोत्सव विजेताले नगद २० हजार रुपैयाँ, दोस्रोले नगद १५ हजार रुपैयाँ, तेस्रोले नगद १० हजार रुपैयाँ र सान्त्वनाले नगद ५ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गर्नेछन् । महोत्सवमा सहभागी बनेका कविताका प्रतियोगीको नाम कोडीकरण गरेर निर्णायकलाई उपलब्ध गराइनेछ । सोही आधारमा निर्णायकले दुई चरणमा कविता छनौट गर्दै अन्तिम टप १० को नामावली सार्वजनिक गर्ने जनाइएको छ ।