विराटनगर / प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नाम राख्ने विषय जटिल भएको बताएका छन् ।
प्रदेशसभा सचिवालयले बिहीबार विराटनगरमा आयोजना गरेकोे शुभकामना आदान–प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले प्रदेश नामाङ्कनको विषय छलफलमा प्रवेश गरेको भए पनि सहमतिमा नामाङ्कन गर्ने बताए ।

उनले अहिलेसम्म प्रदेशको नाम राख्ने विषयमा दलहरूबीच दुईवटा बैठकमा छलफल भएको बताए । ‘अहिले हामी गृहकार्यमै छौं’ उनले भने, ‘प्रदेशको नाम राख्ने विषय जटिलताकासाथ अघि बढेको छ । सहमतिमै हामीले प्रदेश राजधानी टुङ्ग्यायौं नाम पनि सहमतिबाटै ल्याउँछौं ।’

साँघुरो संरचनाबाट आफ्नो काम सम्पादन गर्नुपर्ने अवस्था र मिडिया सेण्टर लगायत दलका नेता र सभापतिहरूको कार्यकक्ष सोचेजस्तो व्यवस्थित गर्न नसकेको भए पनि त्यसलाई विस्तारै व्यवस्थित गर्दै जाने उनले बताए । अहिले संसदीय समितिका सभापतिहरूका लागि कार्यकक्ष उपलब्ध गराएको, दलका नेताहरूको लागि कार्यकक्ष बनाएको भन्दै सभामुख भण्डारीले अस्थायी हल बनाएर भए पनि व्यवस्थापनको प्रयत्न गरेको उनको भनाइ थियो ।

प्रदेशसभालाई ठीक समयमा शुरु गर्ने प्रयत्न गरे पनि दल वा समितिहरूको बैठक, मन्त्रीहरूको समय आदि कारणले निर्धारित समयभन्दा ढिलो भइरहेकोले त्यसलाई ठीक समयमा शुरु गर्ने विषयमा आफू संवेदनशील रहेको उनले बताए ।

सभामुख भण्डारीले संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूले सकारात्मक दृष्टिकोणबाट समाचार सम्प्रेषण गरेको विकृति विसङ्गतिको विरुद्धमा यथार्थपरक ढङ्गले समाचार सम्प्रेषण गरेबाट प्रदेशसभा सन्तुष्ट रहेको पनि बताए । शुभकामना आदान–प्रदानकै क्रममा उपसभामुख सरस्वती पोखरेलले संसद् सञ्चालनको नयाँ अभ्यासमा पत्रकारहरूबाट अत्यन्तै सकारात्मक सहयोग पाएको बताइन् ।