धरान । बलात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले सरकारी सेवासुविधा त्यागेका छन् ।

उनको सुरक्षामा प्रयोग हुँदै आएका सुरक्षाकर्मी फिर्ता भएका छन् । त्यस्तै उनले प्रयोग गर्दै आएको सवारी साधनसमेत फिर्ता गरेका छन् । बिहीबार नै महराको सुरक्षार्थ खटिएका नेपाली सेना, प्रहरी र सवारी साधन फिर्ता भएका हुन् ।

महराका प्रेस सल्लाहकार डिल्ली मल्लले यसबारेमा जानकारी गराएको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मल्लका अनुसार महराले सरकारी निवाससमेत छाड्नका लागि डेराको बन्दोवस्त गरिरहेका छन् । महराले संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी महिला रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो ।

सोही आरोपपछि महराले असोज १४ गते राजीनामा बुझाएका थिए । तर राजीनामामा केही सर्त राखिएपछि उपसभामुख शिवमाया तुम्बाहाम्फेले ठाडै अस्वीकार गरेपछि दोस्रो पटक राजीनामा बुझाएका थिए । राजीनामा बुधबार नै स्वीकृत भएको थियो ।

त्यसपछि नै उनको सुरक्षाकर्मी फिर्ता भएका हुन् । उनी बालुवाटारस्थित सरकारी निवासमा परिवारसहित बस्दै आएका थिए । यसैबीच यौन दुव्र्यवहारमा पीडित बनेकी रोशनी र उनका श्रीमान्बीच सम्बन्ध चिसिएको छ ।