धरान/निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणासँगै धरानमा मेयरका आकाङ्क्षीहरुले नाम सार्वजनिक गरिरहेका बेला नेकपाबाट अर्का एक नेताले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

नेकपा र काङ्ग्रेसका आकाङ्क्षीको नाम सार्वजनिक भइरहेकै बेला नेकपाको जिल्ला तहका एक नेताले पनि मेयरमा बुधबार पत्रकार सम्मेलन गर्दैै आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । जिल्ला तहका नेता तीर्थ मास्केले मेयरमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । उनले पार्टीले आफूलाई पनि मूल्याङ्कन गर्नुपर्ने धारणा राख्दै मेयरका लागि आफू योग्य रहेको भन्दै धरानलाई समृद्ध बनाउने गरी २३ बुँदे अवधारणा पत्र सार्वजनिक गरे ।

उनले भने, ‘म पनि मेयरका लागि योग्य व्यक्ति हुँ, यसलाई बार्गेनिङ भन्ने नठानियोस्, असल नेतृत्व छानियोस् भन्ने मेरो धारणा हो ।’ उनले आफू पार्टीको विचार र आस्थाभन्दा बाहिर नगई पार्टीका नेतृत्वसँग छलफल गरेर नै उम्मेदवारीको घोषणा गरेको बताए । नेकपाबाट मात्रै मेयरका आकाङ्क्षीमा प्रकाश राई, विजय राई, आइन्द्रविक्रम बेघा, चोत्लुङ देखिएका छन् । मास्केको दाबेदारीसँगै आकाङ्क्षीको सङ्ख्या बढेको छ । तर, पार्टीका एक नेताले मास्केले पार्टीमा बार्गेनिङ गरी आफ्नो हैसियत प्रदर्शन गर्न खाजेको बताए । तर, मास्केले आफ्नो बारेमा पनि पार्टीले सोच्नुपर्ने बताए ।

साना पार्टीको पनि उम्मेदवारी घोषणा

पहिचानको आधारमा १० प्लस १ को अवधारणा अघि सार्दै तीन दशकदेखि आन्दोलित सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपालले पनि उपनिर्वाचनको लागि दुई जनाको नाम सिफारिस गरेको छ । जिल्ला समितिले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनका लागि मेयरमा जिल्ला अध्यक्ष अमर इजम लिम्बू र नगर अध्यक्ष सञ्जुहाङ साँवा लिम्बूको नाम केन्द्रमा सिफारिस गरेको हो ।

amar-sanjuhang

जिल्ला इन्चार्ज भूपेन्द्रसुन्दर लावतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा इजम र साँवाको नाम सिफारिस गरिएको जनाएको छ । यसअघि समाजवादी पार्टीले पनि गजेन्द्र इस्बो, ताजुव लिम्बू र सुभचन्द्र राईको नाम सार्वजनिक गरेको थियो ।