झापा /  नयाँ शक्ति पार्टी नेपाल झापाले नयाँ शक्ति पार्टी झापा र संघीय समाजवादी फोरम झापाबीच एकीकरण नभएकोे स्पष्ट पारेको छ ।
बुधवार झापाको बिर्तामोडमा पार्टीले पत्रकार सम्मेलन गरी पार्टी समायोजन भनेर गरिएको प्रचारप्रति नयाँ शक्ति पार्टी नेपाल झापाको गम्भीर ध्यानाकर्षण भएको कार्यवाहक अध्यक्ष उदय गुरुङले बताए ।
पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले पार्टीबाट कारवाही गरिएका अध्यक्ष वीरबहादुर श्रेष्ठ र सचिव पुष्प पौडेलले पार्टी समायोजन गरिएको भनी भ्रम फैलाएको बताए । ‘बहुमत सदस्य हाललाई समायोजनको विपक्षमा छ ’ कार्यवाहक अध्यक्ष गुरुङले भने । पार्टीले कारवाही गरिएका व्यक्तिले गरेको पार्टी समायोजन अवैधानिक भएकोले आफूहरु त्यसलाई नमान्ने उनले बताए । ‘त्यो व्यक्ति समायोजन हो, पार्टी समायोजन होइन’, कार्यवाहक अध्यक्ष गुरुङले भने– ‘७३ जना जिल्ला सदस्य भएको पार्टीका ९ जनाको उपस्थितिमा पार्टी समायोजन हुँदैन ।’
समाजवादी पार्टीकी महिला विभागकी केन्द्रीय सदस्य पनिता ढकालले पनि झापामा दुई पार्टीबीच एकीकरण भइनसकेको बताइन् । उनले पार्टीको निर्देशन विपरित एकीकरण भएको विषयलाई पार्टीले वैधानिकता नदिने उल्लेख गरिन् । ‘समायोजनमा नजाने भन्ने होइन’, उनले भनिन् ‘जिल्ला कमिटीका सबै पदाधिकारी–सदस्यहरुको सहमतिमा पार्टी एकीकरण हुन्छ र त्यो चाहिँ वैधानिक एकीकरण मानिनेछ ।’
पार्टी समायोजनको कार्यक्रममा उपस्थित रहेका भनिएका वीरबहादुर श्रेष्ठ र पुष्प पौडेललाई पार्टीको १ नं प्रदेश कमिटीले जिम्मेवारीबाट मुक्त गरिएको भन्ने आशयको पत्र जिल्ला कमिटीलाई पठाएको थियो ।
केन्द्रमा ६ महिनाअघि नै दुवै पार्टीबीच समायोजन भई समाजवादी पार्टी गठन भइसकेको छ । उपयुक्त समय आएपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल झापाबीच पार्टी समायोजन हुने कार्यवाहक अध्यक्ष गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा नयाँ शक्ति पार्टी झापाका उपाध्यक्ष भीमराज राई, समाजवादीकी केन्द्रीय सदस्य देवकला प्रसाई, जिल्ला सदस्य अम्बिकाप्रसाद फुयाललगायतले पार्टी एकीकरण गरिएको भनिएको विषयको विरोध गरेका थिए ।
यता पदमुक्त भनिएका अध्यक्ष श्रेष्ठले प्रदेश संयोजक प्रभुराम श्रेष्ठको एकल निर्णय भएको बताएका छन् । ‘पार्टीको पदमुक्त गर्ने अधिकार उहाँलाई छैन’- श्रेष्ठले भने । प्रदेश कमिटिको बैठकले मात्र निर्णय गर्न सक्ने उनले बताए ।