धरान । कम्युनिष्ट सरकारको कारण लोकतन्त्र झनै खतरामा पर्दै गएको नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताएका छन् ।
दोस्रो राष्ट्रिय जागरण अभियानको समापनको अवसरमा मङ्गलबार धरानमा उनले कम्युनिष्ट सरकारबाटै संविधान मिच्ने काम भइरहेको बताए । उनले पार्टी कार्यकर्तालाई मङ्सिर १४ मा हुने उपनिर्वाचनमा विशेष किसिम लाग्न समेत निर्देशन दिए ।
यस्तै पार्टीका प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्माले नेकपाले भाषण गर्न जाने पनि शासन गर्न नजानेको आरोप लगाए । दुई तिहाईको सरकारले जुन अनुरूपमा विकास गर्नुपर्ने हो त्यो तवरबाट विकास निर्माण हुन नसकेको उनले बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि आनन्दसन्तोषी राई, फलकुमार लिङ्खा, सांसद् सीताराम मेहतालगायतले बोलेका थिए । पार्टीका जिल्ला सभापति तथा १ नम्बर प्रदेशका संसदीय दलका नेता राजीव कोइरालाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव सुजेन्द्र गोलेले गरेका थिए । पार्टीले जागरण अभियान समापनसँगै सरकारविरुद्ध विरोध कार्यक्रम पनि गरेको थियो ।