भद्रपुर/ झापाको नापी कार्यालय सेवा दुई दिन ठप्प हुने भएको छ । नापी कार्यालय झापामा नयाँ भवनमा सर्ने भएपछि (हिजो) आइतबार र आज (सोमबार) सेवा ठप्प हुने नापी कार्यालयका प्रमुख डिल्लीराज भण्डारीले जानकारी दिए । विगत लामो समयदेखि भद्रपुर नगरपालिका–१० स्थित धनुषमोड नजिकै दिलबहादुर दाहालको घर भाडामा लिएर सञ्चालन हुँदै आइरहेको नापी कार्यालय अब आफ्नै भवनमा सर्न लागेको उनले जनाए ।

आफ्नै नयाँ भवनबाट सेवा प्रवाह गर्ने र त्यसका लागि कार्यालयको सरसामानसहित आवश्यक उपकरण जडान गर्नुपर्ने भएकोले दुई दिन सेवा बन्द हुने उनले बताए । सेवाग्राहीको समस्याका लागि नापीले शुक्रबार नै सूचना जारी गरी सबैमा जानकारी गराइसकेको उनले बताए ।

राष्ट्रिय समाचार समितिको कार्यालयसँगै रहेको नापीको नयाँ भवनको औपचारिक रूपमा उद्घाटन नगरी सर्न लागेको उनले बताए । भवन बनिसकेको अवस्थामा पनि ठेकेदार कम्पनीले केही कामहरू गर्नुपर्ने भएकोले हालसम्म नसरेको बताउँदै अहिले पनि त्यो काम पूरा नगरेको उनको भनाइ छ । कार्यालय सञ्चालन र सेवाग्राहीको समस्यालाई लक्षित गरी नयाँ भवनमा सर्न लागेको उनले बताए ।

२०७४ को पुस महिनामा निर्माण सम्पन्न भए पनि मापदण्ड विपरीत भवन निर्माण भएका कारण नापी कार्यालय सरेको थिएन । २०७२ भदौ २० गते साह इञ्जिनियरिङ कन्स्ट्रक्सन ललितपुरले २०७३ साल पुस १९ गते निर्माण सम्पन्न हुने गरी भवन ठेक्कामा लिएको थियो ।

निर्माण कम्पनीले दोस्रो पटक वि.सं. २०७४ पुस मसान्तमा सक्ने गरी म्याद थप गरेको थियो । दुई करोड ३२ लाख ८९ हजार ८ सय ३१ रुपैयाँमा सम्झौता भएको नापी कार्यालयको भवनको ठेकेदार कम्पनीले एक करोड ७५ लाख १७ हजार ७ सय ७५ भुक्तानी लिइसकेको जनाइएको छ ।