रेखा लिम्बू म्युजिक भिडियोमा पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् । केही समययता उनले अभिनय गरेका भिडियोहरू लगातार सार्वजनिक भइरहेका छन् ।

रेखाले छोटो समयमै तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् । सन् २०१२ मा मिस लिम्बूमा सहभागी बनेर ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी रेखाले सन् २०१४ देखि पूर्वमा बसेर म्युजिक भिडियो र फिल्ममा काम गरिन् । करिब २ वर्षदेखि भने उनी काठमाडौंमै बसेर भिडियो र फिल्ममा अभिनयमा सक्रिय छिन् ।

उनले पूर्वमै रहँदा अभिनय गरेको फिल्म ‘तारेभीर’ व्यापारमा सफल नभए पनि रेखाको अभिनय दर्शकले मन पराए । त्यसपछि उनले सुरज सुब्बाको फिल्म हृदयभरि र शिव श्रेष्ठको फिल्म एउटा यस्तो प्रेम कहानीमा पनि काम गरेकी छन् ।

rsतर दुवै फिल्म निर्माणकै क्रममा छन् । रेखाले अभिनय गरेको भीषण मुकारुङको गीत ‘खोर्सानी डल्ले’ श्रोता, दर्शकले मन पराए । उनी भन्छिन्, ‘यही गीत बजारमा आएपछि छिमेकीहरूले पनि मलाई अभिनेत्री भनेर चिने ।’

रेखाले धेरै चलेका कलाकारको गीतमा अभिनय गरिसकेकी छन् । उनले अभिनय गरेका सन्तोष लामा, कवि राईलगायतका गीतको भिडियो सार्वजनिक हुने क्रममा छन् । अभिनयमै सम्भावना खोज्दै काठमाडौं आएकी उनले वीरेन्द्र हमालसँग अभिनयको कक्षा लिइन् र शास्त्रीय नृत्य सिकिन् ।

सानैदेखि नृत्य र मार्सल आर्ट सिकेर यो क्षेत्रमा आएकी उनी भन्छिन्, ‘अहिले पनि अभिनय र नृत्य सिकिरहेकी छु । काम त लगातार गरिरहेकी छु । एकदिन सफलता पाउँछु भन्ने प्रतीक्षामा छु ।’

rekha