धरान/ धरान उपमहानगरपालिकाको अनुगमन टोलीले मिति नाघेका खाद्य सामग्री जफत गरी नष्ट गरेको छ ।
धरान–१८ सुन्दर बजारक्षेत्रका किराना, होटल तथा खाजाघरबाट म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट गरेको हो । त्यहाँका अधिकांश होटल, खाजाघर तथा किराना पसलमा फेन्टा, डिउ, कोक, चाउचाउ, बिस्कुट, आलुचिप्स, कुरकुरेलगायतका सामग्री म्याद गुज्रिएको भेटिएको अनुगमन टोलीमा रहेका धरान उपमहानगरका नगर प्रहरी प्रमुख विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।
उनका अनुसार याल्मो होटल, शाकाहारी खाजाघर, ललित किराना पसल, लिम्बू होटल, झापाली होटल एण्ड लजमा राखिएका खाद्य सामग्रीमा ६ महिनाभन्दा बढी म्याद गुज्रिएको र बिस्कुटहरूमा उत्पादन मिति र म्याद गुज्रिने मिति नै उल्लेख नभएपछि जफत गरिएको थियो । उपभोक्तामाथि गम्भीर खेलवाड गरेको भन्दै जफत गरेर व्यवसायीकै अगाडि नष्ट गरिएको थियो ।
सोही क्रममा होटल तथा खाजाघरहरूलाई चेतावनी दिएर छाडिएको थियो । अनुगमन टोलीले धरान–१८ का १७ वटा होटल, लज, किराना पसल र औषधि पसल अनुगमन गरेको थियो । औषधि पसलमा भने केही पनि फेला नपरेको जनाइएको छ ।
धरान उपमहानगर अनुगमन समितिका तर्फबाट स्वास्थ्य संयोजक घनश्याम सिग्देलको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीका खाद्य निरीक्षक सिर्जन जोशी, इलाका प्रशासन कार्यालयका उत्सव ढकाल, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका बबिता अधिकारी, उपभोक्ता हित संरक्षण मञ्चका कृष्ण ताम्राकार, उद्योग वाणिज्य सङ्घका सीताराम आचार्य, इलाका प्रहरी कार्यालयबाट रवि लिम्बू, नगर प्रहरी प्रमुख विष्णुप्रसाद कोइराला रहेका थिए ।
अनुगमन समितिले मासिक रूपमा गरिने नियमित अनुगमन गरेको बताएको छ । ‘यो नियमित अनुगमन हो, दशैंलक्षित होइन, सम्बन्धित अधिकारीहरूलाई बोलाएर नै अनुगमन गरिएको हो’–नगर प्रहरी प्रमुख कोइरालाले भने ।