धरान । मोरङ प्रहरीले मोरङको सुन्दरहरैचा ५ स्थित नमूना सामुदायिक वनभित्र वेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको छ ।

लोड अवस्थामा रहेको ३ थान भरुवा बन्दुक प्रहरी चौकी गछियाले फेला पारेको हो । यसैबीच जिल्ला अदालत मोरङबाट सवारी ज्यान मुद्दामा अभियुक्त ठहरिएका फरार केराबारी गाउँपालिका २ का ५३ वर्षीय नन्दराज कोइरालालाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ । टोलीले इटहरी–२० तरहराबाट पक्राउ गरेको हो । यस्तै मोरङको रङ्गेली नगरपालिका–३ पिपलचोकबाट अवैध रुपमा ल्याउँदै गरेको १० वटा गाई नियन्त्रणमा लिइएको छ । अस्थायी प्रहरी चौक बेतौनाबाट खटिएको गस्ती टोलीले दोहमनाबाट कर्सियातर्फ लाँदै गरेको अवस्थामा निइन्त्रणमा लिएको हो ।

मोरङ प्रहरीले भन्सार छली गरी नेपाल ल्याउँदै गरेको अवस्थामा ७० हजार रुपैयाँ बराबरको किराना पसलका सामग्री बरामद गरेको छ । विराटनगर महानगरपालिका १२ नम्बर वडाको भित्री सडक खण्डमा अटोमा ल्याउँदै गरेको अवस्थामा सामग्री बरामद गरिएको हो । बरामद सामग्री मूल भन्सार कार्यालय रानी विराटनगरलाई बुझाइएको मोरङ प्रहरी प्रवक्ता राजकुमार खिउँजूले जानकारी दिए । त्यस्तै विराटनगर–३० बाट चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरादम गरेको छ । बरामद सामग्री भन्सार कार्यालयमा बुझाइएको छ ।