अमेरिकाको टेक्सस राज्यमा भएको गोलीकाण्डमा कम्तीमा ५ जना मारिएको वीवीसीले जनाएको छ । अन्य कैयौँ घाइते भएको प्रहरीले बताएको छ।

कम्तीमा एकजना बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभावी गोली प्रहार गरेको बताइएको छ। टेक्ससका पश्चिमी नगरहरू ओडेसा तथा मिडल्याण्डमा उक्त घटना भएका हुन्। प्रहरीका अनुसार एकजना संदिग्ध गोरा पुरुषलाई गोली हानेर मारिएको छ। गोलीकाण्डको उद्देश्य थाहा भएको छैन।

यसरी भएको थियो घटना

ओडेसा नगरका प्रहरीका अनुसार सबभन्दा पहिले ती संदिग्ध पुरुषले उनको गाडी रोक्ने ट्राफिक प्रहरीलाई गोली हानेका थिए। करिब ३० वर्ष हाराहारीका ठानिएका ती बन्दुकधारीले त्यसपछि हुलाक सेवाको एउटा ट्रक खोसे अनि नजिकैको मिडल्याण्ड नगर आवतजावत गर्दै लगातार गोली प्रहार गरिरहे।

उनलाई प्रहरीले एउटा सिनेमाघर नजिकै गोली हानेर मारिदिएको बताइएको छ। गोली जथाभावी चलाइएको थियो
प्रहरी प्रवक्ताले बताए अनुसार कम्ती १६ जना घाइते भएका छन्। घाइतेमध्ये केही प्रहरी पनि रहेको उनले पत्रकारहरूलाई बताए।

ओडेसाको अस्पतालले दुई वर्षभन्दा कम उमेरको एक शिशु पनि घाइते अवस्थामा ल्याइएको जनाएको छ। त्यहाँ भर्ना गरिएकामध्ये ७ जनाको हालत गम्भीर रहेको बताइएको छ।

ट्रम्पको प्रतिक्रिया
गोलीकाण्ड लगत्तै ट्वीटरमा प्रतिक्रिया दिँदै राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले घटनाको जानकारी लिइरहेको जनाए।

उपराष्ट्रपति माइक पेन्सले पनि घटनाबारे प्रतिक्रिया दिएका छन्। एउटा पत्रकार सम्मेलन सम्बोधन गर्दै उनले ट्रम्प प्रशासन कंग्रेसमा रहेका दुवै दलका सदस्यहरूसँग मिलेर यस्ता गोलीकाण्डको विषय सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका छन्।

टेक्ससमा लगातार गोलीकाण्ड

टेक्ससको एल पासो नगरमा ठीक चार साता अगाडि पनि गोलीकाण्ड भएको थियो। सो गोलीकाण्डमा २२ जना मारिएका थिए। उक्त घटना टेक्ससका लागि ूइतिहासकै सबैभन्दा घातक दिनमध्येको एक रहेकोू टेक्ससका गभर्नरले बताएका थिए। सो घटनामा संलग्न भएको भन्दै प्रहरीले एक २१ वर्षीय युवालाई हिरासतमा लिएको थियो।