भद्रपुर/ टोक्यो जेको (छेपारो प्रजातिको जीव) को तस्करी गरेको आरोपमा दुईजना नेपाली नागरिक भारतमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाका मोहनलाल क्षेत्री र ठाकुरप्रसाद गौतम रहेको भारतीय प्रहरीले जनाएको छ । नेपाल–भारत सिमानास्थित सशस्त्र प्रहरी बल ४१ औँ बटालियन (एसएसबी) को टोलीले टोक्यो जेको (छेपारो प्रजातिको जीव) सहित भारतको पश्चिम बङ्गालमा पक्राउ गरेको हो ।
पश्चिम बङ्गालको दार्जिलिङ जिल्लास्थित नक्सलबारीबाट पानी ट्याङ्की–काँकडभिट्टा नाकातर्फ आइरहेका उनीहरूलाई गोप्य सूचनाको आधारमा एसएसबीले पक्राउ गरेको जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धानका लागि एसएसबीले नक्सलबारीको रथ खोला वन विभागलाई बुझाइसकेको जनाइएको छ । उनीहरूले टोक्यो जेको कहाँबाट कुन प्रयोजनका लागि ल्याएको विषयमा केही खुलाइएको छैन ।
टोक्यो जेको उनीहरूले नेपाल लैजान खोजेको एसएबसीले आशङ्का गरेका छन् । टोक्यो जेकोलाई घरेलु औषधिका रूपमा एड्स, क्यान्सर, दमजस्ता जटिल रोग निको पार्नमा प्रयोग गर्ने गरेको चिकित्सकको भनाइ छ ।