बिर्तामोड/ झापाको गौरादह नगरपालिका–९ मा जग्गाधनीले मोहीयानी हक खोसेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जमिन कब्जा गरेको छ । पार्टीले शुक्रबार ब्यानर राखेर २० बिगाहा जमिन कब्जा गरेको घोषणा गरेको हो ।
गौरादह–९ को बैगुनधुरामा रहेको जमिनमा मोहीयानी हकबापत जोताहा किसान चाँदमणि हास्दाको परिवारले पाएको १ बिघा १६ कठ्ठा जमिनमा झापा जिल्ला अदालतबाट घर खाली गर्ने म्याद जारी गरेपछि नेकपाको जिल्ला जनपरिषद्ले जमिन कब्जा गरेको हो । जिल्ला जनपरिषद् प्रमुख याम गिरीले पूर्वप्रधानपञ्च नृपबहादुर ढुङ्गानाका परिवारबाट पीडित परिवारलाई मोहीयानी हक लागेको भन्दा अर्र्कै स्थानमा जमिन उपलब्ध गराउने सहमति गरेको दाबी गरेका छन् ।
पछि त्यो जमिनमा समेत विवाद उत्पन्न भएपछि २०६३ सालमा समाजका बुद्धिजीवी र प्रशासन बसेर कागज गर्दै पीडित परिवारलाई जमिन दिने र कुनै विवाद नगर्ने शर्तमा सहमति भएको थियो । त्यसपछि हास्दा परिवारले सोही कागजलाई आधार मान्दै घर बनाएर बसेको बताइएको छ ।
जनपरिषद्ले मोहियानी हक नदिएको, प्रशासन प्रयोग गरेर पीडितमाथि आतङ्क सिर्जना गरेको, सामाजिक अभियन्ता तथा तत्कालीन प्रशासन बसेर गरेको सहमति लत्याएको आरोप लगाएको छ । १५ दिनभित्रमा यो समस्या समाधान नगरे जनपरिषद्ले कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ । जनपरिषद्ले विवादित ४ बिगाहा १ कठ्ठा जमिन कब्जा गरेको घोषणा गरेको छ ।
ढुङ्गाना परिवारको अंशबण्डा नभएको उक्त जमिनको कित्ता नम्बर ११० र ११७ मध्येबाट मोहीयानी हक प्राप्त गरेका चाँदमणि हास्दाको परिवारलाई १ बिघा १६ कठ्ठा जमिन उपलब्ध गराउने सहमति भएको गिरीले बताए । कित्ताकाट गरी हास्दा परिवारलाई पूर्व र पश्चिमपट्टिको जमिन ढुङ्गाना परिवारलाई छाड्ने शर्तमा सहमति भएको दाबी उनको छ । अहिले प्राप्त गरेको जमिनमा जोतखन गर्नै नमिल्ने अवस्थामा भएको हुँदा आकार मिलाएर दिने भन्ने सर्वपक्षीय सहमति ढुङ्गाना परिवारले उल्लङ्घन गरेपछि विवाद उत्पन्न भएको हो ।
सो समयमा पूर्वसांसद् दीपक कार्की, राप्रपा अध्यक्ष अमर विष्ट, स्थानीय राजनीतिज्ञ प्रकाश खरेल, जग्गाधनी भूपेन्द्र ढुङ्गाना, हास्दा परिवारलगायत समाजका प्रतिष्ठित मानिसहरूको उपस्थितिमा सहमति भएको उनले बताए । सहमति विपरीत ढुङ्गाना परिवारकी जेठी बुहारी ईश्वरी ढुङ्गानाले अदालतमा फूलमति हास्दाका नाममा जमिन हात पार्न मुद्दा हालेको आरोप उनको छ । अदालतले ढुङ्गानाको पक्षमा फैसला गर्दै जमिन खाली गर्न १५ दिनको म्याद दिएको पीडित परिवारले बताएका छन् ।
पीडित परिवारका अनुसार ४ बिघा ५ कठ्ठा १० धुरको आधा जग्गा मोही हकबापत पाउनुपर्ने भए पनि ढुङ्गाना परिवारले मोही हक लागेको जमिन नदिएको बताइएको छ । भूपेन्द्र ढुङ्गानाले झुक्याएर ६ जनाको नाममा जमिन भएको भन्दै सबै भेला भएपछि मात्र मोही बाँडफाँड गर्न सकिने भन्दै झुलाएको पीडित बाबुलाल हास्दाले बताए ।
पुर्खाैंदेखि भोगचलन गर्दै आएको जमिन जालसाज गरी ढुङ्गाना परिवारले फसाएको र सामाजिक न्यायका लागि अनुरोध गरेको हास्दाले बताए । ढुङ्गानाले विवाद नमिलाएको भन्दै मोहीबाहेकको २० बिगाहाभन्दा बढी जमिन कब्जा गरेको विप्लवले जनाएको छ ।