विराटनगर / प्रदेश १ को राधजानी रहेको शहर विराटनगर महानगरपालिकामा मध्य राती श्रृंखलाबद्ध डकैती गर्ने समूहको गिरोह पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले तीन जना भारतीय नागरिकसहित सात जनालाई मोरङको पथरी बजारबाट पक्राउ गरेको हो । डकैती गरेपछि पक्राउ परेको गिरोहमा तीन भारतीय र चार जना नेपाली नागरिक छन् ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको मधुवनी थाना बेनिपट्टि कटैया ग्राम पञ्चायत– १३ बरहा बस्ने ३५ वर्षिय धर्मेन्द्र कामत, सोही ठाउँका ३२ वर्षिय लक्ष्मण गुप्ता, ४४ वर्षिय मो.मोतिउर रहमान रहेका छन् । त्यस्तै रौतहट गौर नगरपालिका –३ पोखरिया टोल बस्ने ४१ वर्षिय मो.मोहिज धुनियाँ, सोही ठाउँका ५० वर्षिय बलराम क्षेत्री, सर्लाही ब्रम्हपुरी गाउँपालिका –४ बस्ने ५२ वर्षिय सेख मो.सलिफ र सोही ठाउँका ४६ वर्षिय शेख अलि असगरलाई प्रहरीले श्रृंखलाबद्ध डकैतीमा पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ ।
मोरङ प्रहरीले गरेको प्राराम्भिक चरणको अनुसन्धानबाट भारतको सितामढीमा योजना बनाएर नेपालमा डकैती गर्न आएको खुलेको छ । एसपी अधिकारीका अनुसार पक्राउ परेकाहरुले डकैतीमा भारतीय नम्बर प्लेटको स्कोरपिओ प्रयोग गरेको खुलेको छ । प्रहरीले डकैतीमा प्रयोग गरिएको बीआर ३२ पीए २८३६ नम्बरको स्कोरपिओ नियन्त्रणमा लिएको छ । ‘विराटनगरमा डकैती गरिसकेपछि सातै जना यही स्कोरपिओ गाडीमा चढेर पूर्वी नाका काँकडभिट्टा हुँदै भारत छिर्ने योजनामा थिए,’ उनले भने, ‘त्यही योजना अनुसार भारततर्फ जाने क्रममा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथरीशनिश्चरेमा पुगेपछि इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको हो ।’
पछिल्लो पटक मंगलबार बिहान साढे ३ बजे सटर फुटाएर विराटनगर महानगरपालिका–७ स्थित माँ भवानी ईन्टरप्राईजेजबाट छ लाख रुपैयाँ र कदमाह कृषि सहकारी संस्था लिमिटेडबाट पनि सटर फुटाएर चार लाख ९५ हजार रुपैयाँ डकैती गरेको उनको भनाइ छ । त्यस अघि गत साउन २३ गते बिहान विराटनगर–२ शनिहाटमा रहेको गणनायक मार्केटिङ हाउस नामक किराना पसलबाट सटर फुटाएर चार लाख तथा सटर फुटाएरै पञ्चकन्या ट्रेड लिंकबाट पाँच लाख ९५ हजार रुपैयाँ डकैती गरेको एसपी अधिकारीले जानकारी दिए ।
प्रहरीले गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट पक्राउ परेका गिरोहले २० लाख ९० हजार रुपैयाँ नगद डकैति गरेको खुलेको छ ।
डकैती गर्न भाडामा स्कारपियो
श्रृंखलाबद्ध डकैती गर्न पक्राउ परेका गिरोहहरूले चार दिनको भारू १० हजार रुपैयाँ भाडामा ल्याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । भारतीय नागरिक रण विजय सिंहसँग उनीहरूले भाडामा स्कारपियो लिएका थिए । ‘डकैतीमा संलग्न गिरोह पूरै बन्धवस्तीका साथ नेपाल प्रवेश गरेको देखिन्छ,’ एसपी अधिकारीले भने, ‘डकैती गरेपछि उनीहरू गाडीमा सुत्ने गरेका थिए ।’ प्रहरीका अनुसार डकैती समूहका मुख्य नाईके भनिएका भारत मधुवनीकै मोहम्मद कलाम फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट विभिन्न कम्पनीका सातवटा मोबाइल सेट, १२ हजार आठ सय ५० नेपाली र ११ हजार चार सय १० भारतीय रुपैयाँ, स्कोरपिओ गाडी, एउटा नेपाली र नौवटा भारतीय सिमकार्ड, फलाम काट्न प्रयोग हुने कटर मेसिन, कम्ब्याट पेन्ट र हाफपेन्ट दुईवटा, सातवटा गाम्छा, दुईवटा तन्ना र दुईवटा तौलिया र चारवटा झोला बरामद गरेको छ ।
पक्राउ परेका गिरोहलाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ को चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाउन बिहीबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले बताए ।