भद्रपुर । सरकारी छाप दस्तखत किर्ते अभियोगमा फरार रहेका एक अभियुक्त चार वर्षपछि पक्राउ परेका छन् ।
प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले फरार अभियुक्त भद्रपुर नगरपालिका ७ का कमिचन राजवंशीलाई पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ ।
झापा जिल्ला अदालतले राजवंशीलाई सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा २०७३ साल चैत २२ गते फैसला सुनाउँदै एक वर्ष कैद सजाय र ५० हजार जरिवाना तोकेको थियो । अदालतको सोही फैसला अनुसार उनलाई बुधबार पक्राउ गरिएको जिल्लाका इन्सपेक्टर मोहन थापाले जानकारी दिए ।
उनलाई अदालतमा पेश गरी झापा कारागार चलान गरिएको उनले जानकारी दिए ।
त्यसैगरी ५ ग्राम ब्राउन सुगरसहित मेचीनगर नगरपालिका ७ गैरीगाउँबाट बेलबारी नगरपालिका ३ का १९ वर्षीय सुरज खवासलाई पक्राउ गरिएको इकलाका डिएसपी गोविन्द बहादुर कार्कीले जनाए । लागूऔषध ब्यूरो टोलीले चेकजाँचको क्रममा खवासको साथबाट लागूऔषध बरामद गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा राखिएको उनले जानकारी दिए ।