भण्टाबारी/ लगातार बढ्दै गएको गर्र्मीका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । केही दिनयता अत्यधिक रूपमा बढेको गर्मी र सुख्खा मौसमका कारण जिल्लाको सदरमुकाम इनरुवा, लौकही, भण्टाबारी सहितका क्षेत्रको जनजीवन प्रभावित भएको हो ।
बढ्दै गएको गर्मीका कारण विद्यार्थी, बालबालिका, वृद्धअवस्थाका तथा मजदुर वर्ग बढी प्रभावित हुने गरेका छन् । गर्मी बढेसँगै अस्पतालमा श्वासप्रश्वास, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता बिरामीका चाप बढेको स्वास्थ्यकर्मी बताउँछन् । गर्र्मी बढ्दै गएकोले सर्वसाधारणहरू आवश्यक काम बाहेक घर बाहिर कमै निस्कने गरेका छन् । केही दिनयता तापक्रममा बढेसँगै सुनसरी सहित तराईका जिल्लामा गर्र्मी बढेको हो । अत्यधिक गर्र्मी भएपछि जिल्लाका मुख्य बजारमा चहलपहल समेत घटेको छ ।
गर्मी छल्न पौडी खेल्नेको भीड
गर्मी छल्न कोशी कटानमा पौडी खेल्नेको भीड बढेको छ । इटहरी,झुम्का इनरुवा, लौकही, भण्टाबारीसहितका स्थानबाट युवाहरू गर्मी छल्न कोशी कटानमा आउने गरेका छन् । उनीहरूसँगै यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूले समेत कोशी सिपेच भएर बग्ने पानीमा घण्टौंसम्म पौडी खेल्ने गरेका छन् ।
अत्यधिक गर्र्मीले जनजीवन प्रभावित भएको बताउँदै स्थानीय आसिफ अन्सारीले कोशीको चिसो पानीमा पौडी खेलेर गर्र्मीको समय बिताउने गरेको बताए । कोशी मावि लौकहीमा कक्षा ९ मा अध्ययनरत अन्सारीले अत्यधिक गर्र्मीका कारण विद्यालयमा गएर पढ्ने अवस्था नरहेको बताउँछन् । उनले भने दिउँसो झन धेरै गर्र्मी हुन्छ, त्यसमाथि टिनको छानो भएको रुममा कसरी बस्ने । पढ्न गए पनि धेरैजसो विद्यार्र्थीहरू दुई घण्टी वा टिफिनसम्म मात्र विद्यालयमा बस्ने गरेको अन्सारीले बताए । अत्यधिक गर्र्मी बढेपछि कतिपय सरकारी विद्यालय बन्द भएका छन् ।
खुलेका बिद्यालयमा गर्र्मीका कारण पढ्न नजाने र गएकामध्येबाट धेरैजसो विद्यार्र्थीहरू १ नबज्दै फर्किने गरेका छन् । लौकही, हरिपुर, श्रीपुर, भण्टाबारी क्षेत्रका बीचमै बिद्यालयबाट घर फर्केकाहरूमध्ये कोही घरायसी काम गर्ने गरेका छन् भने बाकी गर्मी छल्न कोशी कटानमा पौडी खेल्दै दिन बिताउने गर्छन् । कोशी कटानमा नियमित रूपमा १५० देखि ३०० को सङ्ख्यामा नुहाउन र पौडी खेल्न सर्वसाधारणहरू आउने गरेको कोसी कटान प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक लक्ष्मीनारायण कुर्र्मी बताउँछन् । बिदाको दिन कोसी कटानमा पौडी खल्नेको भीड झनै बढ्ने गरेको छ । दिनहुँ यात्रामा हुने यात्रुदेखि लिएर परिवारसहित बिदाका दिन रमाइलो गर्न सयौंका सङ्ख्यामा सर्वसाधारण आउने गरेको उनले बताए ।
पेय पदार्थको व्यापार बढ्यो
बढ्दो गर्र्मीसँगै चिसो पेयपदार्थ, आइसक्रिम र उखुको जुसको व्यापार बढेको छ । गर्र्मीले गर्दा फलफूल, पेयपदार्थको व्यापार बढेको छ भने बजारमा मेसिनबाट जुस बनाउने व्यवसाय फस्टाएको छ । गर्र्मी बढेसँगै बिहानैदेखि बजारमा जुस पिउने सर्वसाधारणको भीड देखिन थालेको छ । गर्र्मीबाट केही राहत मिल्ने भएकोले जुस तथा पेयपदार्थ पिउने उपभोक्ताको भीड हुँदा व्यापारसमेत बढेको हो ।
गर्मीको मौसममा जुस बेचेर दिनको २हजारदेखि ३ हजार ५ सयसम्म आम्दानी गर्ने गरिएको लौकहीका सरोज साहले बताए । २० रुपैयाँका दरले प्रति गिलास उखु जुस बेच्ने गरेको बताउँदै साहले घरपरिवार चलाउन सहज भएको बताए । जुसबाट प्राप्त आम्दानीले घरपरिवारको जीविका चलाउनुका साथै छोराछोरीलाई शिक्षादीक्षा दिन सकिएको उनको कथन छ ।
जुससँगै बजारमा चिसो पेयपदार्थको बिक्री–वितरण समेत बढेको छ भने विभिन्न स्वादमा पाइने आइसक्रिम खानेहरू पनि बढेका छन् । मौसमी व्यापार भए पनि जुस, पेयपदार्थ सहितका व्यवसायबाट साहजस्ता दर्जनौंले राम्रै आम्दानी गर्ने गरेका छन् ।