इटहरी/ इटहरी उपमहानगरपालिकाले आफूहरूसँग जथाभावी पैसा असुलेको सिटी सफारी चालकहरूले आरोप लगाएका छन् ।

विभिन्न बहानामा आफूहरूलाई दुःख दिएको भन्दै सफारी चालकहरूले इटहरी उपमहानगरपालिकाअगाडि प्रदर्शनसमेत गरे । सामान्य विषयमा पनि जथाभावी शुल्क असुलिरहेको सफारी चालकले गुनासो गरेका हुन् ।

उनीहरूका अनुसार दैनिक पार्किङ, सरसफाइ शुल्क रसिद भनेर बिल बनाई शुल्क लिने गरिएको छ । सफारीलाई ट्राफिकहरूले हैरान बनाएको सफारी चालक रविन भुजेलले बताए । ‘उपमहानगर र ट्राफिकको नियम सम्झँदा सफारी बेकारमा किनेछु जस्तो लाग्छ’–उनी भन्छन् ।

चालकहरूका अनुसार पार्किङ शुल्क भनेर नगरपालिकाको रसिदमा १६ रुपैयाँ ९५ पैसा दर तोकिएको छ । तर, चालकहरूले २०, २५ र ३० रुपैयाँसम्म बुझाउने गरेको बताए । निश्चित पार्किङ क्षेत्र नभए पनि पार्किङ शुल्क भन्दै पैसा लिने गरेको आरोप लगाए । शुल्क असुल गर्न पाथीभरा कन्स्ट्रक्सनलाई ठेक्का दिइएको छ ।

आफूहरूलाई बिना सूचना नगरपालिकाले पैसा लिने गरेको र ट्राफिक प्रहरीले पनि अनेक बहानामा दुःख दिने गरेको सफारी चालकहरूको गुनासो छ । स्वतन्त्ररूपमा काम गरेर खान कठिन भएको तर्क गर्दै अरूबेला यस्तो नहुने र चाडबाड नजिकिएसँगै ट्राफिक प्रहरी र नगरपालिकाले दुःख दिने गरेको चालकहरूको आरोप छ ।

आफूहरूसँग लाइसेन्स, ब्लुबुक भए पनि प्रहरीले कहिले बिमा त कहिले अनेक बहाना देखाएर चिट काट्ने गरेको चालकहरूको आरोप छ । यता पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का एसपी भीमबहादुर दाहालले राजमार्गमा गुडिरहेको सवारीमा पार्किङ शुल्क लिनु गैरकानूनी रहेको बताए ।