बिर्तामोड/ झापाको घैलाडुब्बामा प्रहरीले पीडितलाई नै माफी मगाएर कागज गराएको छ । राति आफ्नै घरबाट बेपत्ता भई घाँटी तथा शरीरमा निलडामसहित बेहोस अवस्थामा फेला परेकी बाह्रदशी–७ की गोमादेवी गौतमलाई पीडाकै अवस्थामा प्रहरीले माफी मगाएर थप पीडा दिएको हो ।

साउन ३० गते बेलुका खाना खाएर ९ र ५ वर्षका दुईजना छोरासँगै सुतेकी गौतम ३१ गते बिहान ८ बजे घाँटी तथा शरीरमा निलडामसहित बेहोस अवस्थामा घरभन्दा ३ किलोमिटर टाढा फेला परेकी थिइन् । गौतमका श्रीमान् वैदेशिक रोजगारमा कतारमा छन् । ‘बेलुका खाना खाएर घरमा सुतेकी हुँ, के भयो भन्ने केही थाहा छैन’ पीडित गौतमले भनिन्, ‘पछि होस खुल्दा बिर्तामोडको बी एण्ड सी अस्पतालमा थिएँ ।’

‘३० गते दिउँसो स्थानीय निरुता चापागाईंसँग फोनमा विवाद भएको थियो’ गौतमले भनिन्, ‘म अस्पतालबाट निस्कनासाथ प्रहरीमा लगेर माफी मगाए, मेरो कुरा कसैले सुनिदिएन ।’ उनी र चापागाईंबीच भएको विवादका क्रममा उनले अपशब्द बोलेको भन्दै माफी मगाइएको एकजना स्थानीयले बताए ।

घटनाबारे बुझ्न फोन गर्दा घैलाडुब्बा प्रहरीका असइ बमबहादुर कोइरालाले भने, ‘सहमति हुँदा स्थानीय भद्रभलाद्मी र सइसा’ब हुनुहुन्थ्यो । मलाई सहमतिबारे पूरै थाहा भएन ।’ उनले सइ देवराज शर्मा घरबिदाबाट आएपछि सबैकुरा भन्न सकिने जानकारी दिए । घटनाको बारेमा प्रहरीले कुनै अनुसन्धान नगरेको पाइएको छ ।

पीडितकी जेठानी यशोदा गौतमले आफू पीडितको घरभन्दा पल्लो घरमा रहने भएकाले राति ११ बजेतिर मात्र घटनाबारे जानकारी पाएको र रातभर खोज्दा नभेटेको जानकारी दिइन् ।

पीडितको माइती हल्दिबारी गाउँपालिका वडा नम्बर ५ मा हो । घटनापछि पीडितलाई लिएर न्याय खोज्दै माइती पक्ष हल्दिबारी गाउँपालिका पुगेको छ । घटनाबारे बुझ्न हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले घैलाडुब्बा प्रहरीमा पनि पुगेको बताए ।

घटनाबारे आक्रोस व्यक्त गर्दै अध्यक्ष लिङ्देनले भने, ‘घटनाबारे अनुसन्धान नै नगरी प्रहरीले उल्टै पीडितलाई माफी मगाउने काम गरेको छ, यो अन्यायको पनि हद हो ।’ पीडित गोमादेवी गौतम अहिले पनि फलोअप उपचारमा छिन् ।

घटनापछि पीडित गौतम दुईजना छोरासहित माइतीघरमा बस्दै आएकी छन् । गौतम घाइते भएपछि बालकहरू स्कुलसमेत नगएको एकजना शिक्षकले जानकारी दिए ।