बेलबारी/ मोरङको बेलबारी नगरपालिका वडा नं. २ स्थित सहारा बालग्रामको जग्गा विभिन्न जालसाज गरी व्यक्तिलाई बिक्री गरेको खुलासा भएको छ । स्थानीय बासिन्दाले न्यून रकममा जग्गा उपलब्ध गराएर सहारा बालग्रामको स्थापना गरिएको थियो । अनाथ, तथा विपन्न परिवारहरूलाई बसोबासका लागि भनेर स्थापना गरिएको सहारा बालग्रामको जग्गा १ बिगाहा ९ कठ्ठा रहेको छ । सहाराको सोही जग्गामध्ये १ बिगाहा ८ कठ्ठा ३ धुर जग्गा बिक्री गरेको खुलासा भएको हो ।
इटहरीका डम्बर तामाङलाई उक्त जग्गा सञ्चालक समितिले बिक्री गरेको पाइएको छ । मालपोत कार्यालयको तथ्याङ्कअनुसार साविक हरैँचा ५ ख हाल बेलबारी २ को कित्ता नम्बर १०७८ को ५ कठ्ठा, कित्ता नम्बर ७८५ को ७ कठ्ठा, कित्ता नम्बर १०८३ को ३ कठ्ठा, कित्ता नम्बर १०८१ को ४ कठ्ठा, कित्ता नम्बर १०९० को ५ कठ्ठा, कित्ता नम्बर ८१९ को ४ कठ्ठा ३ धुर क्षेत्रफलका जग्गा तामाङको नाममा गएको छ ।
प्राप्त जानकारीअनुसार सहाराको भवन निर्माण गर्दा तामाङबाट ५० लाख कर्जा लिएको भनी मुद्दा बनाई अदालती प्रक्रियाबाट बेचबिखन गरेको पाइएको छ । जिल्ला अदालतको मिति २०७५ साल असोज ४ गतेको मिलापत्र र जनाउ–पत्रको आधारमा उक्त जग्गाहरू ०७५ मङ्सिर ११ गतेको निर्णयबमोजिम मालपोत कार्यालयले दाखिल खारेज गरिदिएको छ ।
जग्गा बिक्री कार्यमा पूर्व सांसद् हर्कमान तामाङ र बालग्राम सञ्चालन समितिका अध्यक्ष तथा बेलबारीका पूर्व गाविस अध्यक्ष शिवप्रसाद बरालको अगुवाइ रहेको छ । तामाङ र बराल बेलबारी नगरपालिकाका मेयरका सल्लाहकार हुन् । जग्गा खरिद गर्ने डम्बर तामाङका अनुसार उक्त जग्गा १ करोड २५ लाखमा लिएको बताएका छन् ।
सहाराको जग्गा बिक्री भएको खुलासा भएपछि सोमवार नेकपा बेलबारी–२ को वडा संयन्त्रले पत्रकार सम्मेलनको आयोजना गरी घटनाको विरोध गरेको छ । वडा संयन्त्रले उक्त जग्गा फिर्ता हुनुपर्ने माग राखेको छ । नेकपा वडा संयन्त्रले जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक सम्पत्तिको अपचलन गरेको हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानेसमेत चेतावनी दिएको छ ।
नेकपा वडा नं. २ का संयोजक सीताराम न्यौपानेको अध्यक्षतामा भएको भेलामा कार्यपालिका सदस्य खिना थापालगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा बोल्दै नेकपाका संयोजक न्यौपानेले जग्गा फिर्ता गर्न जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए ।
त्यसैगरी वडाध्यक्ष घनश्याम गौतमले नेकपाका जुनै स्तरका नेता भए पनि उनीहरूलाई कारबाही गर्न उपल्लो कमिटीमा सिफारिस गर्ने बताए । त्यसैगरी सहारा बालग्राममा बसोबास गर्नेहरूलाई आफू बसोबास रहेको ठाउँलाई नछोड्न वडाध्यक्ष गौतमले आह्वान गरेका छन् । सहारा बालग्रामको भवनमा २८ घरपरिवार बस्दै आएका छन् ।
यसअघि पनि ठाउँ खाली गर्न सञ्चालक समितिका मानिसहरू त्यहाँ आएको उनीहरूले बताए । पूर्व सांसद् हर्कमान तामाङ, सञ्चालक समितिका अध्यक्ष शिव बरालसहित बेलबारीका प्रताप थापा, लक्ष्मणजङ थापा पनि आएको उनीहरूले पत्रकार सम्मेलनमा बताए । यस विषयमा थापाले सहाराको साधारणसभाको योजना बमोजिम जीर्ण भवन पुनः निर्माण र थप रोजगारका कार्यक्रम सञ्चालनमा ल्याउने भएकोले त्यसैअनुसार जानकारी मात्र गराएको थापाले बताए ।
त्यसैगरी सहारा बालग्राम सञ्चालन समितिका अध्यक्ष शिवप्रसाद बरालले आफूहरूले जग्गा खाली रहेको भवनमा गार्मेण्ट उद्योग लगायत विभिन्न महत्वपूर्ण आयमूलक कार्यक्रम सञ्चालन गर्ने हाम्रो उद्धेश्य हो । त्यसको लागि बैङ्किङ प्रोसेसमा सहजका लागि सर्तनामासहित हामीले त्यसो गरेको बताए । ‘योजना शुरु भएपछि सबैकुरा ल्याउन लागेका थियौं, हाम्रो यसमा ढिलाइ पनि भयो’ –अध्यक्ष बरालले भने ।
२०५६ सालमा प्रतिनिधिसभा सदस्य भएको बेला हर्कमान तामाङको पहलमा साहरा बालग्राम स्थापना गरिएको थियो । घरबारविहीन परिवारको आश्रय र अनाथ बालबालिकाहरूको निम्ति स्थापना गरिएको बालग्राम विगत लामो समयदेखि जीर्ण अवस्थामा रहेको छ ।