बिर्तामोड/ युवतीको प्रयोग (हनी ट्रयाप) गरेर ब्यापारीलाई बन्धक बनाउँदै लाखौं रकम ठगि गर्न खोजेको घटना सेलाउन नपाउँदै बिर्तामोडमा सोही प्रकृतिको घटना दोहोरिएको छ ।
झापाको अर्जुनधारा–६ बस्ने २७ बर्षीय तविता राईले बिभिन्न नाममा फेसबुक एकाउण्ट खोलेर खासगरी बिदेशमा रहेका युवालाई ठगि गरेको आरोपमा इलाका प्रहरी कार्यालय अनारमनीले उनलाई पक्राउ गरेको छ । आफु एयरहोस्टेज भएको परिचय दिएर युवालाई ठगि गर्ने युवतीलाई इप्रका अनारमनीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
पक्राउ पछि राईले जेट एयरलाइन्सको एयरहोस्टेज भन्दै विभिन्न मुलुकमा रहेका नेपाली युवालाई प्रलोभनमा पारेर ठगि गर्ने गरेको खुलेको छ । उनले आफ्नो फेसबुकमा फरक नाम र तस्वीर राखेर नेपाली युवाहरुसँग कुरा गर्दै रकम माग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट सार्वजनिक भएको इप्रका अनारमनीका डिएसपी मोहन थापाले बताए ।
नक्कली फेसबुक एकाउण्ट खोलेर रिक्वेस्ट पठाउँदै कुराकानी गरेर विवाहसम्मको प्रस्ताव राख्ने गरेको प्रहरीको भनाई छ । उनका अनुसार पक्राउ परेकी युवतीले बुवा अमेरिकामा बस्ने र आमा डाक्टर, दाजु पाइलट हुनुहुन्छ भनी आफ्नो परिचय दिदैंं आएकी थिइन् ।
मोवाइल र मेसेन्जरमा निरन्तर कुराकानी गरी नजिक हुने र लामो समय कुराकानी गरेपश्चात विवाह गर्नेसम्मको प्रलोभन दिई विभिन्न आकस्मिक समस्या देखाई पुरुष व्यक्तिहरुसँग रकम माग गरी झुक्याई रकम ठगी गर्ने गरेको र रकम नदिएमा आत्महत्या गर्ने भनी धम्कीसमेत दिने गरेको प्रहरीको भनाई छ ।
पक्राउ परेकी राईलाई झापा जिल्ला अदालतबाट ६ दिन म्याद थप भई अनुसन्धान शुरु गरिएको छ । अनुसन्धानका क्रममा उनले नक्कली फेसवुक आइडिमा अर्काको फोटोहरु राखेकोले मेसेन्जरमा भ्वाइस कल मात्र गर्ने, सक्कली अनुहार देखिने डरले भिडियो कल नगर्ने गरेको पाइएको छ ।
जेट एयरलाइन्सको एयर होस्टेसको फोटोहरु इन्स्ट्राग्रामबाट निकाली आफुले खोलेको नक्कली फेसवुक आइडिमा फोटोहरु अपलोड गर्ने गरेको प्रहरीले फेला पारेको छ । ठगि गर्ने युवतीलाई मुलुकी अपराध संहिता, २०७४ को ठगी अपराध अन्तरगत कानूनी कारवाही हुने झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
एकजना जापान र एकजना काठमाण्डौ बस्ने युवकले आफु ठगिएको थाहा पाएपछि बिर्तामोडमा उजुरी गरेका थिए । जापान बस्ने युवाबाट नगद २ लाख र एउटा मोवाइल लगेको बुझिएको छ भने काठमाण्डौ बस्ने युवाबाट पनि २ लाख भन्दा बढी रकम हात पारेको पाइएको इप्रका अनारमनीका डिएसपी थापाले बताए । बिर्तामोडबाट रकम निकालेको थाहा पाएपछि उनीहरुले इलाका प्रहरी कार्यालय अनारमनी उजुरी दिएका हुन् ।