इनरुवा / सुनसरीको इनरुवामा रहेको आवर आवर इङ्गिलस बोर्डिङ स्कूलमा साइबर अपराध तथा लागुऔषध दुव्र्यसन बिरुद्धको सचेतना कार्यक्रम संचालन गरिएको छ ।
नारी साझा मञ्च इनरुवाको सहकार्यमा आयोजना गरिएको प्रशिक्षण तथा अन्तरकृया कार्यक्रममा समूदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारण अनुरुप संचालनमा ल्याइएको थियो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत ८, ९ र १० का विद्यार्थीलाई सहभागि गराईएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्रप्रसाद फुँयाल, प्रशिक्षकहरु शिव शर्मा, पुष्पक निरौलाका साथै विद्यालयका प्रिन्सिपल बिदुर बराललगायतले कार्यक्रममा प्रशिक्षण दिएका थिए । ट्राफिक सचेतना र अपनाउनु पर्ने सावधानीका विषयमासमेत विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
विद्यालय केन्द्रित कार्यक्रम संचालनमा ल्याउनुलाई सरोकारवालाहरुले पाठ्यक्रमसँगै समयसापेक्ष र आवश्यक ज्ञान दिलाउनु प्रमुख उद्येश्य रहेको बताएका छन् ।
कुलतमा फँस्दो युवा जमात र मोबाइल र सोशल मीडिया प्रतिको बढ्दो क्रेजले निमत्याउन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यार्थीका लागि उचित परामर्श सहितको सचेतना कक्षा संचालनमा ल्याइएको नारी साझा मञ्चकी अध्यक्ष सरिता कार्की घिमिरेले बताइन् । प्रविधिको बिकाससँगै मोबाइल र इन्टरनेटमा बढ्दो पहुँचले साइबर अपराध जन्माउने तर्फ स्वयं अभिभावक समेत बेलैमा सचेत बन्नु पर्ने घिमिरेले बताइन् । घिमिरेले बढ्दो साइबर अपराध र दुव्र्यसनी विरुद्ध विद्यालय तहबाटनै सचेतना कक्षाको आवश्यकता महसुस गरी कार्यक्रम संचालनमा ल्याइएको बताइन् । कार्यक्रमलाई नगरभित्रका अन्य विद्यालय सहित पालिका स्तरमा समेत निरन्तरता दिइने उनले बताइन् ।