देउराली । धरान देउराली परिवार हङकङले धरान–१५ श्यामचौककी क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको छ ।
नौ महिनादेखि मिर्गौला क्यान्सरको उपचार गराइरहेकी ५७ वर्षीय राधिका भुजेललाई देउराली परिवार हङकङले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो । भुजेलले मिर्गौलामा पत्थरी भएपछि आर्थिक अभावका कारण समयमै उपचार गराउन नसक्दा क्यान्सर भएको बताइन् । चिकित्सकले नियमित ४ वर्षसम्म उपचार गराउनु पर्ने भनेर जानकारी गराएको उनले बताइन् । त्यसका लागि करिब ४ लाख रुपैयाँ खर्च लाग्ने उनले बताइन् ।
हाल विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेकी छन् । श्रीमान्, तीन छोरा भए पनि अशक्त रहेका छन् । राधिकाको ५८ वर्षीय श्रीमान् हर्कबहादुर शारीरिक रूपमा अशक्त छन् भने ४१ वर्षीय जेठो छोरा मनिकुमार पनि मासिक रोगी रहेको उनले बताइन् । २९ वर्षीय कान्छा छोरा ललितको २०६६ सालमा ट्यााक्टर दुर्घटनामा परी अशक्त छन् । माइला छोरा विशालले दैनिक ज्यालामजदुरी गरी परिवार चलाइरहेका छन् ।
धरान–१० देउराली चौकबाट हङकङ गएका युवाहरूले स्थापना गरेको देउरालीकी प्रतिनिधि हेममाया लिम्बूको हातबाट सहयोग रकम प्रदान गरिएको छ ।
बालकलाई पनि उपचार खर्च
धरान–१० देउराली चौक घर भई हाल हङ्कङबस्दै आएकी हेमामाया लिम्बूले धरान–४ शिखरबासका ८ वर्षीय बालक नयन राईको उपचारका लागि १० हजार नगद सहयोग प्रदान गरेकी छन् ।
बालक प्यारालाइसिस अवस्थामा छन् । साथै बोलीसमेत आउँदैन । जन्मिएको केही समयपछि जण्डिस भएको परिवारले जनाएको छ । सोही कारणले नै हातखुट्टा नचलेको हुनसक्ने अनुमान परिवारको छ । हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालक उपचाररत रहेको आमा अञ्जु राईले जनाइन् ।