इनरुवा/ सुनसरी सदरमुकाम इनरुवामा डेङ्गु सङ्क्रमित बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ ।

केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइरहँदा पछिल्लो पटक इनरुवामा एकसाथ ११ जना डेङ्गु सङ्क्रमित बिरामी फेला परेका छन् । इनरुवा नगरपालिकाको कार्यालयले नगरभित्र ११ जनामा डेङ्गुको सङ्क्रमण पाइएको पुष्टि गरेको छ ।

इनरुवा अस्पतालको आकस्मिक कक्षले भने डेङ्गु सङ्क्रिमत सङ्ख्या बढ्दो क्रममा रहेको जनाएको छ । आकस्मिक कक्षमा कार्यरत सिनियर अहेव गुणानन्द झाका अनुसार नमूना परीक्षणका क्रममा २० जनाभन्दा बढीमा डेङ्गुको सङ्क्रमण फेला परिसकेको छ । स्थानीयका अनुसार इनरुवाभित्रका केही डेङ्गु सङ्क्रमित बिरामी धरान र नोबेलमा परीक्षणपश्चात उपचारको क्रममा छन् ।

इनरुवा–४ का एकै परिवारका ७ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको इनरुवा अस्पतालले जनाएको छ । ज्वरो आएर उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेकाले सङ्क्रमित सङ्ख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरूको अनुमान छ ।

नगरभित्र एकसाथ डेङ्गुका बिरामी फेला परपछि इनरुवा नगरपालिकाको कार्यालयले शनिबार बिहान आपतकालीन बैठकसमेत डाकेको थियो । नगरपालिकाको कार्यालयले कार्यपालिकाको बैठकबाट डिल्ली निरौलाको संयोजकत्वमा डेङ्गु नियन्त्रण तथा प्रचार–प्रसार समितिसमेत गठन गरिएको जानकारी दिएको छ ।

निरौलाका अनुसार नगरमा प्राप्त जानकारी अनुसार इनरुवा–४ मा ७ जना सङ्क्रमित भेटिएका छन् । त्यसैगरी वडानम्बर ५ मा ४ जना र वडानम्बर ३ मा १ जनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । सङ्क्रमित सङ्ख्या बढी रहेको भन्ने बुझिन आएकाले तथ्याङ्क सङ्कलन र रुजु गर्ने कार्य जारी रहेको निरौलाले बताए ।

भाइरसका कारण सङ्क्रमण फैलने भएकाले बैठकको निर्णयअनुसार नियन्त्रणका उपाय अवलम्बन गर्नुका साथै जनचेतना फैलाउन समितिले तत्कालैबाट काम थाल्ने निरौलाले जानकारी दिए ।