विराटनगर । प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको खाद्यवस्तुको विषादी परीक्षण गर्ने आधुनिक प्रयोगशालामा स्थानीय स्तरमा उत्पादन भएका खाद्यवस्तुको मात्र परीक्षण हुने गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाली संरक्षणको कार्यालयमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याएको झण्डै एक महिना हुन लाग्दा पनि स्थानीयस्तरमा उत्पादन भएका तरकारीको मात्र परीक्षण हुने गरेको छ ।

विराटनगर भन्सार हुँदै भित्रिने भारतीय र तेस्रो मुलुकबाट आएको खाद्यवस्तुको विषादी परीक्षण प्रदेश सरकारले सञ्चालनमा ल्याएको प्रयोगशालालाई मान्यता नदिइँदा व्यापारीहरू झापाको बिर्तामोड पुग्ने गरेका छन् । उनीहरू विराटनगर भन्सारदेखि करिब ८० किलोमिटर दूरीमा रहेको बितामोर्डको प्रयोगशालाबाट विषादी परीक्षणको प्रतिवेदन लिएर आउने गरेका छन् ।

उक्त प्रयोगशाला स्थापना गरिँदा भारतलगायत अन्य मुलुकबाट आयात हुने तरकारी परीक्षणका लागि झापाको बिर्ताममोडमै लैजानुपर्ने बाध्यता अन्त्य गरी यहीँबाट शुरु हुने प्रदेश सरकारले दाबी गरेको थियोे । तर, सञ्चालनमा आएको एक महिना पुग्न लाग्दा पनि विराटनगर भन्सारबाट आयात हुने खाद्यवस्तुको विषादीको परीक्षण गर्न बिर्तामोड पग्नैपर्ने बाध्यता अहिले पनि कायमै छ । जसले गर्दा खाद्यवस्तु आयात गर्ने व्यापारीहरूले समस्या भोग्नुपरेको उनीहरू बताउँछन् ।

उनीहरूले विराटनगरमा स्थापना भएको प्रयोगशालाबाटै खाद्यवस्तुको विषादी परीक्षण हुनुपर्ने माग राख्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय विराटनगरलाई निवेदन दिएको लामो समय हुँदा पनि अझै परीक्षण हुन सकेको छैन । प्रदेश सरकारले स्थापना गरेको प्रयोगशालाबाट परीक्षण गरिएको खाद्यवस्तुको प्रतिवेदनलाई सङ्घीय सरकार अन्तर्गतको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अर्थ मन्त्रालयले स्वीकृति नदिँदा विराटनगर भन्सारबाट आयात हुने खाद्यवस्तुको विषादी परीक्षण नभएको हो । अहिले विराटनगर भन्सारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको निर्देशन बमोजिम बिर्तामोर्डमा रहेको प्रयोगशालामा खाद्यवस्तुको परीक्षण हुने गर्छ ।

२५ लाख रुपैयाँको लागतमा स्थापना गरेको प्रयोगशालामा साउन १० गतेसम्ममा स्थानीय स्तरबाट १२ र सुनसरी भन्सारबाट १८ वटा खाद्यवस्तुको नमूना लिएर विषादी परीक्षण गरिएको बाली संरक्षण प्रयोगशालाका प्राविधिक सहायक घनश्याम बरालले जानकारी दिए । उक्त प्रयोगशालामा स्थानीय हाटबजारबाट तरकारी र विभिन्न खाद्यवस्तु एवम् सुनसरी भन्सार सेतु भान्टाबारीबाट न्यून सङ्ख्यामा आलु र प्याजको सेम्पल परीक्षण गर्न ल्याउने गरेको छ । अधिकांश नमूना परीक्षण गर्न उक्त कार्यालयबाट पनि बिर्तामोडको प्रयोगशालामा पठाउने गरिएको छ ।

‘खाद्यवस्तुमा विषादी परीक्षण गरिँदा अहिलेसम्म खानयोग्य भेटिएको छ’ उनले भने, ‘खानयोग्य हुनका लागि ३५ प्रतिशतभन्दा कम ‘इन्हिविसन (रुकावट प्रतिशत)’ हुनुपर्दछ ।’ जुन खानयोग्य रहेको उनले बताए । अहिलेसम्म ‘कार्वामेट’ र ‘अर्गानोफस्फेट’ विषादीको परीक्षण हुँदै आएको उनले बताए ।

‘कुनै खाद्यवस्तु खानयोग्य छ कि छैन भनेर प्रयोगशाला परीक्षणबाट मापन गर्न सकिन्छ’ उनले भने, ‘विषादीको मात्रा प्रतिशतमा नदेखाए पनि ३५ ‘इन्हिविसन’ सम्म मापन भएका खाद्यवस्तु खानयोग्य मानिन्छ भने ४५ भन्दा माथिका वस्तुहरू नष्ट नै गर्नुपर्ने हुन्छ ।’ तर केही दिन राखेर पुनः परीक्षण गर्दा ४५ भन्दा तल घटेको अवस्थामा त्यो वस्तु केही दिन राखेर खान मिल्ने उनले बताए । प्रयोगशालामा अहिले सात कर्मचारी छन् । तीमध्ये पाँचजना प्राविधिक रहेकोजनाइएको छ ।

यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले विराटनगर भन्सारबाट भित्रिने खाद्यवस्तुको विषादीको परीक्षण पनि चाँडै प्रदेश सरकारले स्थापना गरेको प्रयोगशालाबाटै हुने तयारी गरेको बताए । ‘सङ्घीय सरकार मातहतमा रहेको कृषि मन्त्रालय र अर्थ मन्त्रालयमा प्रदेश सरकारले पत्राचार गरिसकेको छ’ उनले भने, ‘उताबाट स्वीकृति प्रदान गरेपछि भारत र तेस्रो मुलुकबाट आयातित खाद्यवस्तुको परीक्षण यहीँबाट हुनेछ ।’ परीक्षणको लागि झापा जानैपर्ने बाध्यता चाँडै अन्त्य हुने उनको भनाइ छ ।