धनकुटा । शहीद रामकृष्ण श्रेष्ठ धनकुटाको मात्र नभएर देशकै गहना र गौरव भएको शुक्रबार धनकुटामा शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले बताएका छन् ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले कार्यक्रमको उद्घाटन गर्दै शहीद श्रेष्ठ धनकुटा नगरपालिकाका भए तापनि उनी राष्ट्रकै गहना भएको बताए । सो अवसरमा तामाङले श्रेष्ठको योगदानको उच्च सम्मान गर्दै सालिक तथा पार्क निर्माणलगायत विभिन्न कार्यक्रम गर्नका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी सीताराम कार्र्कीले शहीदहरूले देखाएको बाटोबाट हिँडेमात्र शहीदको सम्मान हुने बताए । कार्कीले प्रजातन्त्रको लागि लडेका योद्धाको त्यागलाई देश र जनताले सम्मान गर्नुपर्नेमा जोड दिए ।
शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाका अध्यक्ष ईश्वर अकेलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार तथा नेपाली काङ्ग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले साहसिक योद्धा रामकृष्ण श्रेष्ठले प्रजातन्त्रको लागि तत्कालीन राजा वीरेन्द्र र उनका परिवार विराटनगर सवारी हुँदा बम प्रहार गर्ने क्रममा विष्फोटन भई मृत्यु भएको बताए ।
कार्यक्रममा पूर्वसांसद् गोपाल गुरागाईं, नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, धनकुटा बहुमुखी क्याम्पसका प्रध्यापक विश्वप्रकाश श्रेष्ठ, शहीद रामकृष्ण श्रेष्ठका कान्छा भाइ तथा प्रतिष्ठानका संरक्षक वैकुण्ठकृष्ण श्रेष्ठ, नागरिक समाज धनकुटाका अध्यक्ष दोर्ण गुरागाईलगायतले रामकृष्ण श्रेष्ठको उच्च सम्मान गर्नुपर्नेमा जोड दिए ।
वि.सं.२०३० साल चैत्र ३ गते विराटनगरको अस्पताल रोडमा बम प्रहार गर्दा मृत्यु भएका श्रेष्ठलाई वि.सं.२०७४ साल माघ ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले शहीद घोषणा गरेको थियो ।