धरान/जनताको सुरक्षार्थ खटिँदै आएका प्रहरीहरूको शनिबार स्वास्थ्य चाँज गरिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरू सम्मिलित सङ्गठन हातेमालो फाउण्डेशन र इलाका प्रहरी कार्यालय धरानकाे संयुक्त अायाेजनामा स्वास्थ्य जाँच गर्दै औषधि वितरण गरेकाे हाे । इलाका प्रहरी कार्यालय धरान  र मातहत रहेको स्थायी र अस्थायी प्रहरी चौकी तथा बिटका १ सय ४२ जना प्रहरीसहित उनीहरूको परिवारको जाँच गरिएको छ । बीपी प्रतिष्ठानमा हुँदै आएको ओपिडी सेवाका सबै विभागका सेवा प्रदान गरिएको छ । हाडजोर्नी, छाला तथा चर्म रोग, बाल रोग, आँखा, तथा नाक, कान घाँटीलगायतका सेवा प्रदान गरिएको फाउण्डेशनका महासचिव प्रज्वल गजुरेलले बताए ।

उच्च रक्तचाप, मधुमेहका ल्याब टेष्ट पनि गरिएको थियो । २४ सै घण्टा जनताको सुरक्षार्थमा खटिँदा आफ्नो स्वास्थ्यको समेत ख्याल नहुने भएकाले सबैको स्वास्थ्य जाँच गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए । ‘दैनिक सुरक्षामा खटिने कारण स्वास्थ्य जाँच गर्न पाएका हुँदैनन् । र, परिवार तथा छोराछोरीहरूलाई पनि सेवा प्रवाह गर्न सकेका हुँदैनन् त्यसका लागि स्वास्थ्य जाँचको कार्यक्रम राखिएको हो’ डिएसपी न्यौपानेले भने ।

डिएसपी न्यौपानेले पनि उच्च रक्तचाप, मधुमेहको जाँच गरेका थिए । ओपिडीका क्रममा देखिएका सामान्य बिरामीहरूका लागि औषधिसमेत वितरण गरिएको थियो । औषधि पनि फाउण्डेशनले नै व्यवस्था गरेको हो । झण्डै एक दर्जनभन्दा बढी चिकित्सकहरूले स्वास्थ्य सेवा प्रवाह गरेका थिए । फाउण्डेशनले पहिलो पटक शिविर सञ्चालन गरेको अध्यक्ष इन्द्र लिम्बूले बताए । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इप्रका धरान परिसरमै सेवा प्रवाह गरिएको थियो ।

त्यसक्रममा थुनुवाहरूको पनि स्वास्थ्य जाँच गरिएको डिएसपी न्यौपानेले जानकारी दिए । चिकित्सक र प्रहरीबीच सुमधुर सम्बन्ध स्थापित गर्नका लागि कार्यक्रम आयोजना गरिएको फाउण्डेशनका प्रवक्ता भूपेन्द्र साहले जानकारी दिए । त्यसक्रममा डेङ्गुको पनि परीक्षण गरिएको थियो । फाउण्डेशन ५ महिना अगाडि स्थापना भएको हो । यसले समुदायको समस्याको पहिचान गर्दै चिकित्सकहरू पनि समाजकै एउटा अङ्ग भएको जनाउने मुख्य उद्देश्य रहेको छ ।