बिर्तामोड । नियुक्ति लगत्तै प्राध्यापक डाक्टर रामप्रसाद उप्रेतीले सामाजिक उत्तरदायित्वअन्तर्गत बिर्तामोडको बि एण्ड सी हस्पिटलले तीनवटा विभिन्न योजना अघि सारेका छन् । हस्पिटललाई देशकै नमूना हस्पिटल बनाउने उद्देश्यले ती योजना निःशुल्क सम्पन्न गर्न लागेका हुन् ।

हस्पिटलको प्रिन्सिपलका रूपमा नियुक्त भएका प्रा.डा. रामप्रसाद उप्रेतीले पत्रकार सम्मेलन गरी हस्पिटललाई नमूना बनाउने अठोट गरेका छन् । उनको योजनाअनुसार आगामी सातादेखि विभिन्न समुदायबाट प्रतिनिधित्व गराई प्राथमिक उपचारसम्बन्धी ज्ञान दिइनेछ ।

गाउँघरमा हुने सामान्य घटना, विपद् व्यवस्थापनमा उपयोग हुन किसिमका र व्यक्तिगतरूपमा पनि सघाउ पुग्ने प्राथमिक उपचारका पद्दति हस्पिटलका डाक्टर, नर्सहरूले तालिम दिने प्रा.डा. उप्रेतीले जानकारी दिए । उनका अनुसार विद्यालय छनौट गरी ८, ९ र १० कक्षाका विद्यार्थीहरूलाई लक्षित गरी प्राथमिक उपचारसम्बन्धी तालिम दिइने बताए । हस्पिटलले डा. विवश पौडेलको संयोजकत्वमा प्राथमिक उपचार तालिम समिति निर्माण गरेको छ । यो तालिम झापासँगै इलाम, पाँचथर र ताप्लेजुङमा पनि निःशुल्क रूपमा प्रदान गरिने डा. उप्रेतीले बताए ।

यस्तै झापाका ५ सय जनालाई स्वस्थ रहनका लागि योग कक्षा दिने योजना हस्पिटलको रहेको छ । पतञ्जलीका गुरु बाबा रामदेवलाई नै ल्याएर योग गराउने हस्पिटलको उद्देश्य रहेको छ । त्यस्तै, लाइफ स्टाइल क्लिनिक सञ्चालन गर्ने बताइएको छ । नौ सय शøयाको बि एण्ड सी झापामा स्थापित हुँदा पनि स्थानीय समुदायले केही नपाइरहेको बताउँदै उनले आफ्नै स्रोत साधन परिचालन गरेर निःशुल्क रूपमा सामाजिक उत्तरदायित्व बहन गर्न लागिएको बताए ।

साउनमा बि एण्ड सीमा नियुक्ति लिएका उनले काठमाडौंस्थित महाराजगञ्ज मेडिकल कलेजमा लामो समय काम गरेका थिए । डाक्टर उप्रेतीले भने, ‘म झापाली नै हुँ, झापामा नै रहेर सेवा गर्न पाउनु गर्वको कुरा हो ।’ डाक्टर उप्रेतीले सबैसँग मिलेर नयाँ जोश र जाँगरका साथ काम गर्न आफू झापा आएको बताए ।

यसै शैक्षिक सत्रबाट पहिलो पटक बि एण्ड सी मेडिकल कलेजले कक्षा सञ्चालनको तयारी गरेको छ । उनले बि एण्ड सी मेडिकल कलेजबाट दक्ष चिकित्सक उत्पादन गर्नेसमेत गरेका छन् । शिक्षण अस्पतालमा ४४ वर्ष प्रमुख भएर काम गरेको अनुभव भएका प्रा.डा. उप्रेतीले बि एण्ड सीमा जागिर खान नआएको पनि दाबी गरे । उप्रेतीले बि एण्ड सीलाई नम्बर १ हस्पिटल बनाएर छाड्ने प्रतिज्ञासमेत गरेका छन् ।

उनले विदेशका स्तरीय हस्पिटलसँग सहकार्य समेत गर्ने बताए । मेडिकल कलेजमा अनुसन्धान गर्दै सेवा दिने प्रतिबद्धता जनाएका छन् । ‘बिरामीको सेवा नै पहिलो प्राथमिकता हो’ उनले भने, ‘प्रभावकारी सेवा दिएर इतिहास रच्ने काम गरिन्छ ।’ कार्यक्रममा मेडिकल डाइरेक्टर डा. निराजन पराजुली, हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीलगायतले पनि आफ्नो भनाइ राखेका थिए ।