भद्रपुर / पानीमा डुबेर झापामा छुट्टाछुट्टै स्थानमा दुइजनाको ज्यान गएको छ । ज्यान जानेमा हल्दीबारी गाउँपालिका १ का ३८ वर्षिय बीरेन्द्र बुढाथोकि र कमल गाउँपालिका ५ का ६८ वर्षिय काजीबहादुर जोशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हल्दीबारीका बुढाथोकी गएराती २ बजे घरबाट हिडेका थिए । विहानसम्म सम्पर्कमा नआए पछि स्थानीयले खोजतलास गर्दा नजिकै रहेको खेतको पानीमा विहीबार विहान डुबेको मृत अवस्थामा फेला पारेका थिए । घटनापछि स्थानीयले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । प्रहरी चौकी गोलधापबाट खटिएको टोलीले घटना स्थल सुरक्षति राखी थप अनुसन्धान गरिरहेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी मृतक जोशी विहीबार विहान साढे ५ बजे गोठजाने क्रममा चिप्लिएर नजिकै रहेको पैनीमा खसेका थिए । पैनीले बगाएर केहीवेरपछि मृत अवस्थामा साढे ७ बजे स्थानीयले पैनीको किनारमा फेला पारेका थिए । घटनापछि प्रहरीलाई खबर आएको डिएसपी श्रेष्ठले जानकारी दिए ।