पथरीशनिश्चरे/ मोरङको पथरी शनिश्चरेलाई अर्गानिक नगर बनाउने सोच अघि बढेको छ । नगर सरकारले पनि चालु आर्थिक वर्षको आफ्नो नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरेर अन्तक्र्रिया थालेको छ ।
आर्थिक वर्ष ०७५/७६ को नीति कार्यक्रममा पनि नगरपालिका कार्यालयले अर्गानिक नगरको पहलको कुरा राखेको थियो । जसका लागि वडा नम्बर २ मा स्थापित उचित जैविक उद्योगको स्थापना मुख्य कारक हुनपुग्यो । सो अनुरूप सोही आर्थिक वर्षमा नगरले त्यस उद्योगको स्थापनामा सघाएर १० लाख रुपैयाँ अनुदान दियो । ट्रान्सफर्मर जडान गरिदियो ।
वडा कार्यालयमार्फत् सडकको स्तरोन्नति गरियो । यिनै सन्दर्भ जोडिँदै उद्योगले उत्पादन थालेको अवस्थामा उद्योग र नगरपालिकाका जनप्रतिनिधिबीच अर्गानिक नगर बनाउने विषयमा यसबेला नगरपालिका कार्यालयमा अन्तक्र्रिया भयो । प्रालिका सञ्चालक एवम् प्राविधिक कृष्णचन्द्र महर्जन र शाखा व्यवस्थापक अशोक चाम्लिङले जैविक उद्योगले गरेको अभियानका बारेमा जानकारी गराउँदै पथरीशनिश्चरेलाई अर्गानिक नगर बनाउन सकिने धारणा व्यक्त गरे ।
‘जीवाणुको कल्चर गर्न सक्ने एसियास्तरको प्रविधि हामीसँग छ । हामी मानिस, पशुपंक्षीसहित समग्र पर्यावरणलाई सुधारेर स्वस्थकर बनाउने अभियानमा छौं ।’ प्रालिका शाखा व्यवस्थापक राईले भने ‘नगरपालिकाले योजना बनाओस्, हामी किसानहरूलाई प्राविधिक सहयोग र रासायनिक पक्षको विकल्प दिएर अर्गानिक नगर बनाउन सक्ने क्षमतामा छौं ।’
मन्तव्यको अन्तिम पालोमा नगर प्रमुख दिलिपकुमार राईले असार १० गतेको चौथो नगरसभाले अर्गानिक नगर बनाउन पहल गर्ने कुरा पारित गरेको र यस अभियानमा लाग्ने जनाए । उनले भने ‘कृषिमा आधारित नगरपालिकालाई कृषिजन्यवस्तुको व्यवसायिकता बढाउने तरिका खोजिरहेका छौं ।
उचित जैविक प्रालिले सचेतनासहित थालेको अभियानमा सहकार्य गरेर अर्गानिक नगर बनाउने योजना बनाएर जान्छौं ।’ अन्य जनप्रतिनिधिसहितका सहभागीले विभिन्न दीर्घ रोगको कारक बनेको रासायनिक मल र विषादीलाई हटाएर जैविक मल विषादीले अर्गानिक नगर बनाउन सबै पक्ष लाग्नु पर्ने धारणा राखेका छन् ।
नगरका लागि मात्र नभएर १ नम्बर प्रदेशका कृषकलाई प्रोत्साहित गर्ने काम थालेको उद्योगमा जैविक मल, जैविक विषादी र जैविक पौष्टिक आहारा उत्पादन हुँदैछ । यस उद्योगको उत्पादनले कृषकहरूमा खुसी छाएको छ । ‘अरु बेला प्रति कट्ठा ३ देखि ४ मन धान फल्थ्यो । यो मल लगाउन थालेपछि कट्ठाको ६ मनसम्म धान फल्यो ।’– सो मल प्रयोगकर्ता नगरका गौरी फागोले भने । १ नम्बर वडा सदस्य रोमान्सी धिमालले सुन्दर बस्तीमा पालन गरेका सुँगुरहरूलाई त्यहाँको पौष्टिक आहारा खुवाउँदा सुँगुरको मलमूत्रको गन्ध हराएको, मासु खँदिलो र स्वादिलो भएको अनुभव सुनाइन् ।
उनले पौष्टिक आहाराले औषधिको कामसमेत गरेको बुझिन् । जैविक मल खेतमा प्रति कठ्ठा ८ किलोग्राम हाल्नुपर्ने हुन्छ । पौष्टिक आहार भने गाई र भैँसीलाई २४ घण्टामा ४० ग्रामको दरले, वाख्रा र बंगुरलाई २५ ग्रामका दरले दानासँग खुवाउनु पर्ने हुन्छ । ब्रोइलर र लेयर्स कुखुरामा १ नम्बर दानामा १ प्रतिशत, २ नम्बरमा डेढ र ३ नम्बरमा २ प्रतिशत तथा माछालाई ५ प्रतिशत दिनुपर्ने हुन्छ ।
हालसम्म नगरको उद्योगले ५ टन पौष्टिक आहारा उत्पादन गरी बिक्री वितरण गरिरहेको छ । जैविक विषादी भने यसको मुख्य कार्यालय ललितपुरबाट आउने गर्दछ । मल भने केन्द्रबाट १५ टनसहित यहाँ उत्पादन भएको गरी ३० टन खपत भइसकेको उद्योगको तथ्याङ्कमा देखिन्छ ।
मल तयार पार्न ब्राण्ड, भुटेको तोरीको पिना, चिउरीको पिना, बोन धुलो, मिट मिल, फिस मिल, प्रेसमट, ४ वटा जीवाणु लगाइन्छ । जीवाणुलाई जीवित राख्न मलासेस नामक वस्तु समेत राखिन्छ ।
०७५ माघ २८ गतेदेखि उद्योगले उत्पादन थाल्यो । तर विदेशी उत्पादनलाई मात्र राम्रो ठान्ने मानसिकतामाझ नेपालमै र त्यो पनि पथरीशनिश्चरे जस्तो ग्रामिण नगरमा उत्पादन भएको मल विषादी र पौष्टिक आहारामाथि स्थानीयको विश्वास विस्तारो गरी वढेको छ । नगरपालिकाले यसलाई प्रोत्साहित गरेको छ ।
जसअनुरुप नगरपालिकाले नगरका कृषकका लागि ५० प्रतिशत अनुदानमा मल र विषादी प्रदान गर्न गत वर्ष ४ लाख रुपैयाँ लगानी गरेको थियो । जस अनुरुप उद्योगले नगरका १० वडामा १ हजार १ सय किलोग्रामका दरले ५० प्रतिशत अनुदानमा प्रदान गरेको छ । १ नम्बर वडामा ५० प्रतिशत अनुदानमा पौष्टिक आहार समेत प्रदान भएको छ ।
गोदावरी १२ ललितपुरमा ०६९ सालदेखि उचित जैविक उद्योग प्रालि स्थापना भयो । त्यसको शाखाका रुपमा पथरीशनिश्चरेमा उद्योग खडा भयो । उत्साही साना किसान कृषि सहकारी संस्थाको संयोजनमा कृषि क्षेत्रमा काम गर्ने मोरङ, झापा र इलामका १५ संस्थाको ६९ लाख र बाँकी प्रालिको केन्द्रले गरी साढे २ करोड लगानी भएको छ ।
जसमा उत्साहीले सबैभन्दा बढी २२ लाख लगानी गरेको छ । कृषक समूहले १–१ लाख र कृषि सहकारी संस्थाले न्यूनत्तम ५ लाख रुपैयाँका दरले त्यहाँ लगानी भएको छ । लगानी गर्नेहरूमा, झापाको केर्खास्थित नौलो बिहानी कृषि सहकारी, बिर्तामोडको विवेकशील महिला कृषि सहकारी, गौरादहको महारानीझोडा साना किसान कृषि सहकारी, गौरीगञ्जको हरियाली महिला कृषक समूह छन् ।
इलामको साना किसान कृषि सहकारी, चुलाचुलीस्थित हरियाली प्राङ्गारिक कृषि समूह, मोरङको लेटाङस्थित उत्तरी मोरङ कृषि महिला सहकारी, पथरीशनिश्चरेस्थित चोत्लुङ कृषि सहकारी र कञ्चन कृषि समूह पनि उद्योगका साझेदार हुन् ।
त्यस्तै, पछिल्लो समयमा मानसरोवर कृषि सहकारी दमक ३, साना किसान महिला सहकारी दानाबारी इलाम, सेतुमारी कृषि सहकारी दमक, झापाको कस्तुरी मिश्रित कृषक समूह दुधे र इन्द्रेणी युवा कृषक समूह दुधे थपिएका छन् । उद्योगबाट दैनिक २ टन मल उत्पादन भइरहेको छ । उद्योगले वनजङ्गलमा धनी रहेको नगरमा पातपतिङ्गरसहितको प्रयोगमा कम्पोष्ट मल बनाउनेसमेत योजना बनाएको छ ।