धनकुटा/ श्रीमान् र श्रीमतीबीचको सम्बन्ध बिग्रिएको लामो समयपछि धनकुटाको एक राई दम्पतीले सम्बन्धविच्छेद गरेका छन् ।
जिल्ला अदालत धनकुटामा श्रीमतीले सम्बन्धविच्छेदको निवेदन आइतबार दिएपछि शहीदभूमि गाउँपालिका–३ का ७७ वर्षीय बर्मध्वज राई र उनकी श्रीमती ६० वर्षीया बर्मेश्वरी राईको सोमबार सम्बन्धविच्छेद भएको हो । उनीहरूको विहे २०३४ सालमा भएको थियो । विवाह भएको ४२ वर्षपछि राई दम्पतीले सम्बन्धविच्छेद गरेका हुन् ।
बर्मेश्वरीले दुई छोरीको लालन–पालनमा श्रीमान् बर्मध्वोजले सहयोग नगरेकोले विगत ३० वर्षदेखि आफू छुट्टै बस्दै आएको अदालतमा बयान दिएकी थिइन् । राई दम्पतीका विवाह भएर ज्वाइँको घर गई सकेका ४२ र ३८ वर्षीया दुई छोरी पनि सोमबार अदालतमा उपस्थित थिए । जिल्ला अदालत धनकुटाले श्रीमती बर्मेश्वरीको निवेदनको आधारमा राई दम्पतीलाई सम्बन्धविच्छेदको फैसला सुनाएको थियो ।
राई दम्पती मात्र होइन, एक महिनाअघि मात्र ५९ वर्षीय पुरुष र ४९ वर्षीया महिलाको पनि सम्बन्धविच्छेद भएको जिल्ला अदालत धनकुटाले जनाएको छ । दुई वर्षअघि ५ थान सम्बन्धविच्छेदका मुद्दामात्र दर्ता भएको जिल्ला अदालत धनकुटामा अहिले सम्बन्धविच्छेदको मुद्दा नै बढी हुने गरेको छ । अघिल्लो वर्ष ३४ थान मुद्दा दर्ता भएको जिल्ला अदालत धनकुटामा आ.व.०७५/०७६ मा २ सय ६५ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको न्यायाधीश विनोदकुमार पोख्रेलले बताए ।
विगत वर्षहरूको तुलनामा आ.व.०७५/०७६ मा आठ गुणाले सम्बन्धविच्छेदका मुद्दा बढ्नुले समाज कता जाँदैछ भन्ने चिन्ता बढेको न्यायाधीश पोख्रेलले बताए । गत भदौ महिनादेखि नयाँ मुलुकी ऐन आएसँगै जिल्ला अदालत धनकुटामा पुरुषवादी भएका सम्बन्धविच्छेदका ११ मुद्दा दर्ता भएको न्यायाधीश विनोद पोख्रेलले बताए । सम्बन्धविच्छेद गर्नेहरू सामान्यतया २० वर्षदेखि ४४ वर्षका आउने भए पनि यो वर्ष भने पहिलो पटक ७७ वर्ष उमेरसम्मको देखिएको हो ।
समाचार स्रोतका अनुसार ७७ वर्षीय श्रीमान् बर्मध्वोजले आफ्नी जेठी श्रीमती बर्मेश्वरीलाई थाहा नै नदिई कान्छी श्रीमती ल्याएपछि उमेरले ६० पुगेकी राईले पनि भित्रीरूपमै कान्छो श्रीमान्को व्यवस्था गरेर सम्बन्धविच्छेद गरेको खुलेको छ । अब दुवैको लागि विहे गर्ने बाटो खुलेको छ ।