अचेल बेमौसमी फलफूल तथा तरकारीहरू सबैभन्दा छिटो र बढीभन्दा बढी उत्पादन गरी बजारसम्म पुर्याउने एक प्रकारको होडबाजी नै जस्तो चलेको छ । जसका कारण अत्यधिक मात्रामा हानिकारक कीटनाशक विषादी, रासायनिक मलखादको अत्याधिक प्रयोग, प्रयोगशालामा उत्पादित उन्नत भनिएका हाइब्रिड बीजहरू र तिनबाट उत्पादित खाद्यान्न बजारमा छ्याप्छ्याप्ती भेटिन्छन् ।

कस्ता विषादी प्रयोग हुन्छन् ?
नेपालमा अत्यधिक प्रयोग हुने विषादीहरूमा इण्डोसल्फान, डिक्लोरोवोस,फेनवेलेरेट, साइपरमेथ्रिन, म्यन्कोजेब, डाइफेनाइलामाइन, इथिओन, डिडिटी जस्ता विषादीहरू पर्दछन् । नेपाली बजारमा भित्रिएका जाडो र गर्मी यामका गरी करीब तीस प्रकारका फलफूल तथा तरकारीहरूमा गरिएको एक अध्ययन अनुसार ‘डाईक्लोरोभोस’ तथा ‘मिथाएल पाराथिओन’ नामक कीटनाशक विषादीको मात्रा औसतभन्दा तीन गुणा ज्यादा पाइएको छ ।

चिन्ने कसरी?
हेर्दैमा आकर्षक, चिल्ला, उज्याला, ठूला ठूला, सलक्क परेका फलफूल तथा तरकारीमा विषादी प्रयोग गरिएका हुन सक्छन् । बरु अलि अलि किरा लागेका फलफूल तथा तरकारी विषादीरहित हुने सम्भावना ज्यादा हुन्छ । हालसालै गरिएको एक अध्ययनअनुसार विषादीको मात्रा तुलनात्मक रूपमा ज्यादा पाइने फलफूल तथा तरकारीहरूमा स्ट्रबेरी, स्याउ, आरु, अङ्गुर, पैंयु (चेरी), पालुङ्गो, टमाटर, बोडी, सिमी, घण्टे खोर्सानी (क्यापसिकम), काँक्रा, आलु,रातो खोर्सानी आदि रहेका छन् । विषादीको मात्रा तुलनात्मक रूपमा कम पाइने फलफूल तथा तरकारीहरूमा घ्यू फल (एवोकाडो), घोगा मकै, भुइँ कटहर, बन्दागोभी, मटरकोसा, प्याज, कुरीलो, आँप, मेवा, किवी, भण्टा (बैगुन), मौसम, लप्सी, काउली, खरबुजा, सुठुनी, तरुल , सुन्तला, अनार आदि रहेका छन् ।

कसरी आउँछ कृतिम चमक ?
हिजोआज बजारमा सिमी, हरियो प्याज, कर्कलो, पर्वल, भिण्डी, बोडी जस्ता तरकारीलाई ताजा र हरियो देखाउन हरियो अखाद्य रङ्ग तथा निलोतुथो (कपर सल्फेट) को झोलमा डुबाउने गरिन्छ ।यस्ता कृत्रिम चमक भएका खाद्यान्नको सेवनले धेरै प्रकारका रोगहरू लाग्ने र शरीरको प्रतिरोधात्मक क्षमतामा समेत कमी आउने गर्दछ ।

फलफूल कसरी पकाउँछन् समय अगावै ?
मेवा, आँप, केरा, स्याउ जस्ता फलफूलहरूलाई समय अगावै अप्राकृतिक तरिकाले चाँडोभन्दा चाँडो पकाउनका लागि ‘कार्बाइड’, ‘इथाइलिन’ जस्ता हानिकारक रसायनहरूको प्रयोग गरिएको पाइएको छ । यस्ता रसायनयुक्त फलफूलको सेवनले मुख तथा पेटको अल्सर, फोक्सोमा सङ्क्रमण, छालाको समस्या, शरीरमा हर्मोनको गडबडी, पेटसम्बन्धी समस्या साथै क्यान्सर समेत लगाउन सक्ने भएकाले बेलैमा सचेत हुनु जरुरी देखिन्छ । यस्ता विषादी प्रयोग गरी पकाइएको फलको प्राकृतिक रङ्ग, वासना तथा स्वाद त्यति हुँदैन । यिनीहरूको बाहिरी बोक्रा एकनाशको रातो वा उज्यालो पहेँलो देखिन्छ । तर भित्र त्यति राम्रोसँग नपाकेको कडा र गुदी पनि रस विहीन सुख्खा किसिमको हुन्छ । यिनीहरूको बोक्रामा गाढा हरियो किसिमको दाग पनि देख्न सकिन्छ ।

गर्भवतीको औषधी तरकारीमा
पहिले पहिले गर्भवती महिलालाई प्रसूति सहज पार्न, रक्ताश्राव कम गर्न, दूधको मात्रा बढाउन का लागि लगाइने ‘अक्सिटक्सिन’ नामक हर्मोनको सुई आजकाल फलफूल, भन्टा, फर्सी, काँक्रा, लौका, मूला, खर्बुजा, मेवा, कटहर , चिचिण्डो जस्ता तरकारी, फलफूललाई ठूलो पार्न , ताजा देखाउन र चाँडो पकाउनका लागि तथा माछा, कुखुरा तथा खसीहरूमा यिनीहरूको आकार वृद्धि गर्नका लागि, प्रयोग गर्ने गरेको पाइएको छ । उक्त प्रतिबन्धित ‘अक्सिटक्सिन’ युक्त खाद्यवस्तुहरूको सेवनले शरीरमा हर्मोनको स्तरमा गडबडी आउने तथा स्नायु प्रणालीमा असर गर्ने सम्मका जटिल रोगहरू लाग्ने सम्भावना बढ्दछ । यसका अतिरिक्त अन्न बालीहरू जस्तो चामल, गहुँ, मकै , दलहन बाली तथा तेल निकाल्न प्रयोग गरिने बालीहरूमा डिडिटि नामक क्यान्सर लगाउन सक्ने प्रतिबन्धित विषादी पाइएको छ ।

कसरी पार्दछ असर ?
ढुसी नियन्त्रणमा प्रयोग गरिने ‘कार्बेंनडाजिम’ नामक विषादीको प्रयोग गरिएका फलफूल तथा तरकारीको सेवनले शरीरमा हर्मोनको गडबडी ल्याउँदछ । यसैगरी ‘मालाथियोन’, ‘बिफेनथ्रिन’ जस्ता कीटनाशकहरूलेमानिसलाई क्यान्सरसम्म लगाउन सक्ने अध्ययनबाट पुष्टि भएको छ । अमेरिकाको कृषि विभागद्वारा चालीसभन्दा बढी प्रकारका फलफूल तथा तरकारीमा गरिएको एक अध्ययन अनुसार विगत पचास वर्षयता विषादी प्रयोगका कारण फलफूल तथा तरकारीमा पाइने शरीरलाई आवश्यक पोषक तत्वहरू जस्तो प्रोटिन, फलाम (आइरन), क्याल्सियम, फस्फोरस, भिटामिन बी टु, भिटामिन सीको मात्रामा सत्ताइसदेखि तीस प्रतिशतसम्म उल्लेखनीय रूपमा गिरावट आएको पाइएको छ । एफ. डी. एफ. नामक अमेरिकी संस्थाले महिलाहरूमाथि हालै गरिएको अनुसन्धान अनुसार गर्भावस्थामा ‘अर्गानोफस्फेट’ नामक विषादीयुक्त फलफूल तथा तरकारीहरूको सेवनले समय अगावै बच्चा जन्मने र उक्त शिशुमा स्नायु सम्बन्धी समस्याहरू देखापर्ने सम्भावना ज्यादा हुने गर्दछ । त्यस्ता महिलाहरूको पिसाबमा ‘ग्लाइफोसेट’ नामक क्यान्सर लगाउन सक्ने हानिकारक विषादीको मात्रा अन्य महिलाहरूको तुलनामा ज्यादा पाइएको छ ।

बच्ने कसरी ?
– सकेसम्म प्राङ्गारिक अर्थात् अग्र्यानिक मलखाद प्रयोग गरी फलाइएका फलफूल तथा तरकारीमात्र सेवन गरौँ ।
– घरमा बनाएको अचार, दही, मोही खाने गरौँ । यस्ता वस्तुको सेवनले तिनमा पाइने शरीरलाई फाइदा पुर्याउने किसिमका असल सूक्ष्मजीवहरू अर्थात् प्रोबायोटिक जस्तै ब्याक्टेरिया, ढुसी (इस्ट) आदिले हामीले फलफूल तथा तरकारीमार्फत् सेवन गरेका विषादीहरूलाई शोषण तथा विच्छेदन गरी शरीरमा हुने विषादीको असर न्यूनीकरण गर्नमा सघाउ पुर्याउँछन् ।
– फलफूल तथा तरकारीलाई राम्रोसँग सफा पानीले दुइदेखि तीनपटक सम्म पखाल्ने गराँै । तर साबुन वा डिटरजेन्टको प्रयोग नगरी पखाल्ने गरौँ किनकि यस्ता सामग्रीमा रहेका हानिकारक रसायनहरू फलफूल तथा तरकारीको बोक्राबाट सजिलै भित्र प्रवेश गर्न सक्दछन् ।
– पानीमा थोरै नुन राखी शङ्कास्पद फलफूल तथा तरकारीलाई केहीबेर सम्म डुबाउने वा मन तातो पानी वा पानीको बाफमा केही बेर राख्नाले पनि केही विषादीहरू हटेर जाने गर्दछन् ।
– फलफूल र तरकारीको बोक्रा छिलेर फाल्नाले पनि विषादीको मात्रामा केही कमी हुन्छ ।
– सधैँ एकै किसिमको फलफूल तथा तरकारी खाइरहनुभन्दा अलग अलग किसिमको फलफूल तथा तरकारीको सेवनले कुनै एक प्रकारको विषादीको मात्रा वृद्धि भइहन सक्ने असर कम गर्न सकिन्छ ।
– माछा, कुखुरा, खसी आदिको छाला तथा बोसोमा विषादीको मात्रा अन्य भागको तुलनामा ज्यादा हुने भएकाले सकेसम्म छाला र बोसो हटाएर मात्र त्यस्ता मासुजन्य वस्तुको सेवन गरौँ ।
– सम्भव भएसम्म आफ्नै करेसाबारी वा सामुदायिक करेसाबारी निर्माण गरी प्राङ्गारिक मलको प्रयोग गरी फलफूल तथा तरकारी उत्पादन गरी सेवन गरौँ ।
– फलफूल तथा तरकारीलाई पानीमा दश प्रतिशत सम्म सिरकामा (भिनेगर) राखी करीब बीस मिनेटसम्म डुबाएर राख्नाले पनि विषादीको असर कम गर्न सकिन्छ ।
– मौसमअनुसारका फलफूलहरू मात्र सेवन गरौँ । बेमौसमी फलफूल तथा तरकारीहरूमा विषादीको मात्रा तुलनात्मक रूपमा ज्यादा हुने गर्दछ ।
– अत्यधिक मात्रामा भइरहेको विषादीको प्रयोगलाई न्यूनीकरण गर्नका लागि सरकारी स्तरबाट देशका विभिन्न प्रमुख तरकारी तथा फलफूल बिक्री स्थलहरूमा विषादी परीक्षण प्रयोगशालाको स्थापना गरी नियमित रूपमा खाद्यान्नमा विषादीको मात्रा परीक्षणको व्यवस्था गरिनुपर्दछ ।

(अध्यापकः जीवशास्त्र विभाग, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय प्रविधि क्याम्पस,हात्तिसार, धरान)
[email protected]