विराटनगरर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भाजपुरको एक कार्यालय प्रमुख घुससहित पक्राउ परेपछि कर्मचारीलाई कडा निर्देशन दिँदै भ्रष्टचारी र कमिसनको सेटिङ्ग गर्नेहरूलाई कुनै हालतमा नछाड्ने चेतावनी दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बोलाएर प्रदेश मातहतका मन्त्रालयका सचिव, सहसचिव, उपसचिव तथा कार्यालय प्रमुखहरुलाई घुस लिने दिने विषयमा प्रर्याप्त सुचना आएको र त्यस्तो गरेको थाहा पाए १ घण्टामा कारबाही गरिने मुख्यमन्त्री राईले चेतवनी दिएका हुन् । उनले घुस खानेहरुले प्रदेश छाड्न पनि चेतावनी दिएका छन् ।
मुख्यमन्त्रीको गृह जिल्लामा गत असार ३० गते भोजपुर जिल्लाको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख मोहनबाबु यादव रंगेहात १ लाख ८० हजार सहित रंगेहात पक्राउ परेका थिए । त्यसलगत्तै मुख्यमन्त्रीको निर्देशनमा मातहतका सबै कार्यालय प्रमुखहरूलाई बोलाएर आवश्यक निर्देशन दिइएको हो । मुख्यमन्त्री राईले कर्मचारीलाई प्रदेशको बद्नाम हुने प्रक्रिया सुरु भएको भन्दै त्यस्तो नगर्न र कसको आडमा गरिएको हो सूचना दिन निर्देशन दिए ।
आफूहरुले कुन अड्डा कसरी चलिरहेको छ भन्ने विषयमा निरन्तर निगरानी गरिरहेको दाबी गर्दै मान्छे रंगेहात समातिनु र यति अंक रकम माथि बुझाउनु पर्ने भनेर बयान दिएको विषयमा आक्रोश पनि व्यक्त गरे । ‘माथि भनेको काहाँ हो ? घुषको निम्ति विभिन्न खालको सेटिङ मिलाइन्छ, मिलाउने काम भइरहेको छ,’ उनले भने, ‘डिभिजन प्रमुख रंगेहात घुष लिँदालिँदै पक्राउ परेको भएपनि यही श्रृंखला अर्को दोस्रो, तेस्रो हुँदै गए प्रदेशको अवस्था के हुन्छ ? । मुख्यमन्त्रीले प्रश्न गर्दै भने, ‘दिउँसै अड्डामा फिटान भएर जाने, ठाडै घुस माग्ने, घुस संकलन गर्ने पु¥याउने, अत्यन्तै लज्जास्पद र घृणित कार्यहरु भइरहेकोप्रति प्रदेश सरकारले नोटिसमा राखेको छ ।’
यस विषयमा सबै गम्भिर बन्नुपर्ने बताउँदै उनले यस खालका घटना भइरहने हो भने प्रदेश सरकारको अवस्था र व्यवस्थाप्रति नै अविश्वास पैदान हुनेतर्फ सबै सचेत बन्नुपर्नेमा जोड दिए । आफू इमानको जगमा उभिएर नेतृत्व गर्ने बताउँदै अब एग्रेसिभली अगाडि बढ्ने बताए ।
प्रदेश सरकार क्रमशः संविधानले दिएका अधिकारको अभ्यास गर्दै अगाडि बढिरहँदा प्रदेश सरकारले केही थाहा पाउँदैन, केही जानकारी राख्दैन भनेर जे मन लाग्यो त्यही गर्न नखोज्न पनि कर्मचारीलाई सचेत गराए । उनले आर्थिक वर्ष २०७६÷०७७ को बजेट जेठ १५ भित्र सक्ने दाबी गरे । पूर्व बजेटको समीक्षासँगसँगै चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको एक्सन प्लान निर्माण भइरहेको बताउँदै उनले आगामि वर्षको बजेट जेठ १५ देखि उता कुनै तालिम, गोष्ठी वा टेण्डर नगर्ने बताए ।
बैठकमा आफ्ना कुरा राख्दै प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले प्रदेश सरकारको उद्देश्य र दृष्टिकोणका आधारमा काम गर्न कर्मचारी संयन्त्र कति प्रभावकारी छ भन्ने विषयमा समीक्षा गर्नु आवश्यक रहेको बताए । उनले कार्यालय प्रमुखहरु घुससहित समातिनु, रेड हुनु लज्जास्पद अवस्था सिर्जना भएको बताउँदै त्यसले प्रदेशको इज्जतमा धब्बा लागेको बताए । आगामी दिनमा कार्य सम्पादन मूल्यांकनमा पनि पुनविचार गर्ने उनले बताए । प्रदेश १ सरकारको प्रशासनिक संरचना पुनरावलोकनको पनि तयारी गरिरहेको र त्यसको लागि प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विशेष निर्णय गर्ने जानकारी दिए ।
प्रदेश सरकार बनेको डेढ वर्ष पुगेको पछि पहिलो पटक अत्यन्त जरुरी ठानेर मुख्यमन्त्रीको निर्देशनमा आकस्मिक रुपमा सो बैठक बोलाइएको हो । बैठकमा पत्रकारहरुलाई पनि सहभागी गराइएको थियो । प्रदेश सरकारको विकास बजेटको दुरुपयोग भएको आलोचना भइरहेका बेला कर्मचारीलाई बोलाएर प्रदेश सरकारका मुख्यमन्त्रीले दिएका कडा निर्देशनलाई सुधारको संकेतको रुपमा लिइएको छ ।