गायक तथा सङ्गीतकार कालीप्रसाद बाँस्कोटामाथि पुनः सङ्गीत चोरीको आरोप लागेको छ ।

केही समयअघि नेपाल आइडलका फाइनलिष्ट सुमित पाठकको आवाज र बाँस्कोटाको शब्द तथा सङ्गीत रहेको गीत ‘समाचार’ को सङ्गीत चोरी गरेको आरोप लगाइएको हो ।

आफ्नो गीत ‘बुझाइदेऊ न तिमी मलाई’ को सङ्गीतसँग हु–बहु मिलेको भन्दै बिक्की महत बुधबार महानगरीय प्रहरीपरिसर पुगेका थिए । त्यहाँ प्रहरीलाई जानकारी गराएर उनी प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरीका लागि पुगेका छन् ।

सङ्गीतकार बाँस्कोटामाथि यसअघि पनि सङ्गीत चोरीको आरोप लागेको थियो । उनले यसअघि आफ्नै शब्द, सङ्गीत तथा स्वरमा रहेको गीत ‘इन्स्टाको फोटो’ को सङ्गीत पनि कार्ला ब्रुनीको एक फ्रान्सेली गीतको सङ्गीतसँग हु–बहु मिलेको आरोप लागेको थियो ।

सोपश्चात् उनले आफूलाई उक्त गीत असाध्यै मन पर्ने र सोही गीतबाट प्रभावित भएर ‘इन्स्टाको फोटो’ तयार गरेको स्वीकार गरेका थिए । उनी चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को दुवै सिजनमा निर्णायकको रूपमा रहेका थिए ।